तपाईँ सुन्दै हुनुहुन्छः

भैँसी पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण

पर्वत ।  पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण गरेको छ । 

नगरपालिकाले कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । 

प्रत्येक वडामा कृषि सम्बन्धी एउटा न एउटा आकर्षण रहने गरी कृषि उद्यम बिस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो ।

सहकारीमा आबद्ध गराएर किसानलाई भैँसी पालनमा प्रोत्साहन गरिएको छ । 

सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास गरी त्यहाँका कृषकहरूलाई व्यावसायिक रूपमा कृषिमा लाग्ने बनाउनको लागि अनुदान दिइएको शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो । 

कुल २५ लाख रुपैयाँको उक्त योजना कार्यान्वयन गर्न फलेवासकै लिमिठानामा रहेको सृजनशील बहुउद्देश्यीय सहकारी संस्थाले जिम्मा दिएपछि सोही सहकारीमार्फत कृषकहरूलाई अनुदान दिइएको हो । 

शंकरपोखरी र थापाठाना दूध उत्पादनमा राम्रो रहेकाले यो ठाउँलाई दूध उत्पादनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 

मल्याङ्दीखोला क्षेत्रमा भैँसी पालन समूह निर्माण गरेर कृषकहरूलाई यसैमा आबद्ध गराइएको छ ।

अनुदान पाएका कृषकहरूले कम्तीमा पनि तीन वटा भैँसी पालेको हुनुपर्ने नियम राखिएको छ । त्यसो भएमा एक कृषकको घरमा दैनिक करिब १५ लिटर दूध उत्पादन हुनेछ । 

तीन वटा भैँसी नपाल्ने हो भने दूध ओसार्न जाने जीपलाई एक खेप नहुने र बजार व्यवस्थापनमा समस्या हुने तथा दूध बजारमा पठाउन चाहेमा समूह बाहिरका कृषकहरू पनि जोडिन पाउने कार्कीले बताउनुभयो । 

दूध उत्पादनलाई बढाउन तराई क्षेत्रबाट उन्नत जातको भैँसी ल्याउने योजना बनाइए पनि बर्खा याम र कोरोना महामारीको जोखिमका कारण तत्कालका लागि स्थानीय जातका भैँसीलाई नै मान्यता दिइएको छ । 

पकेट क्षेत्रमा कम्तीमा पनि १ सय ७० भैँसी पाल्ने र त्यहाँबाट उत्पादित दूधलाई बजार व्यवस्थापन गर्ने जिम्मा पनि सहकारीले नै लिएको अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button