भीमदत्तमा भूमि सम्बन्धी लगत सङ्कलन इकाईको काम जारी, निस्सा वितरण गरिँदै

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकामा भूमि सम्बन्धी लगत सङ्कलन इकाईको कार्यलाई निरन्तरता दिइएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग अन्तर्गत नगरपालिकामा गठन गरिएको इकाईले आयोग खारेज भइसकेपछि पनि आफ्नो क्षेत्राधिकार भित्र रहेर कार्य गर्ने गरी नगरपालिकाकै सहजीकरण समितिले काम अगाडि बढाएको इकाई सर्वेक्षक पङ्कज जोशीले बताउनुभयो । नगरपालिकाको लगत सङ्कलन इकाईले अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी निस्सा वितरणको काम गरिरहेको छ ।
इकाई सर्वेक्षक जोशीका अनुसार १४ ओटा वडाको निस्सा वितरण भइसकेको छ भने ५ वटा वडाको मात्रै वितरण गर्न बाँकी रहेकोले इकाईको कामलाई निरन्तरता दिइएको छ । नगरपालिका भरिमा आठ हजार अव्यवस्थित बसोबासीको आवेदन परेको बताउँदै सर्वेक्षक जोशीले आयोग पुनः गठन भएमा स्थानीय तह अन्तर्गतका इकाईले नै काम गर्नु पर्ने भएकोले नगरपालिकाको जिम्मेवारी अन्तर्गतको काम सक्ने गरी काम भइरहेको बताउनुभएको छ ।
त्यस्तै, इकाईले भूमि जाँच पासको काम समेत सुरु गरेको छ । नगर प्रमुख सुरेन्द्र बिष्टले वडा नम्बर १६ बाट भूमि जाँच पास कार्य उद्घाटन गर्नुभएको थियो । इकाईले वडा नम्बर १६ को अमर टोलको नाप जाँच सकिएको जनाएको छ । भीमदत्त नगरपालिकाले आयोगसँगको सहजीकरणमा यथाशीघ्र अव्यवस्थित बसोबास तथा भूमिहीन नागरिकहरूलाई लालपुर्जा वितरण गर्ने योजना बनाएको थियो । तर गत साता मात्रै नेपाल सरकारको मन्त्री परिषद्बाट आयोग नै विघटन गर्ने निर्णय भइसकेपछि भने पुर्जा वितरण सहितका कार्य अन्यौलतामा परेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्