युवाको नेतृत्वमा विकास र उद्यमशीलता परिषद्

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले युवाको नेतृत्वको क्षमता विकास गर्दै उद्यमशीलता बनाउँदै लगेको छ । युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरूमा भएको क्षमताको आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो ।
परिषद्ले नमुना युवा संसद्, युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारीमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका खेल्दै आएको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवाको नेतृत्वको विकास गर्न र उद्यमशीलता बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो । उहाँले धेरै बजेटमा प्रदेश र स्थानीय तहको समन्वयमा युवाको नेतृत्वका विकासका काम गरिरहेको बताउनुभयो ।
राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ ले नेपाली युवाको सर्वाङ्गिय विकासका लागि आवश्यकीय मार्ग निर्देशक रुपमा रहेका छन् । यी दुवैले तय गरेको लक्ष्यलाई परिषद्ले पुरा गर्ने छ ।
मुलुकमा कुल जनसङ्ख्याका ४०।३ प्रतिशत युवा भए पनि सरकारले पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता समृद्ध राष्ट्र निर्माण लागि सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा परिषद् गठन गरेको हो । परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहसम्म संरचना तयार गरी युवा नेतृत्वको विकासमा भूमिका खेल्दै आएको छ । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश युवा परिषद् र ७७ वटा जिल्लामा जिल्ला युवा समिति गठन भएको छ ।
नेपालमा अहिले रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्ध बेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, युवामैत्री लगानी र उद्यमशीलता वातावरणको अभाव, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएको नकारात्मक प्रभाव नेपाली युवाका समस्या हुन् । ती समस्यालाई समाधान गर्दै युवाको सीप, क्षमताको आधारमा नेतृत्व विकास र उद्यमशीलतातर्फ परिषद्ले जोड्दै गरेको छ ।
शासन प्रणाली र विकासमा सहभागिता, कृषि, पर्यटन, जलस्रोत लगायतका प्राकृतिक साधन स्रोतमा बढ्दो पहुँच, व्यावसायिक शिक्षामा पहुँच, लक्षित समूह एवम् भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल, ठूलो सङ्ख्यामा रहेको वैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधन स्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारीको सिर्जनाको प्रशस्तै अवसर रहेको छ “ परिषद् गठन भएदेखि युवाको नेतृत्वको विकासदेखि युवाका मुद्दालाई सिंहदरबारसम्म पु¥याउने काम भएको छ, ” उहाँले भन्नुभयो, “अझ पनि एकद्धार प्रणाली नहुँदा युवाको मुद्दाको सम्बोधनका कठिनाइ भएको छ ।”
युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो । यस्तै नेपाली युवामा परिषद्ले खेलेको भूमिकाको सराहना गर्दै परिषद्का उपाध्यक्ष ढुङ्गेललाई सन २०१८ मा इन्टरनेशनल यूथ कमिटीद्वारा ‘वर्ल्ड यूथ प्राइज’ पुरस्कारबाट सम्मानित हुनुभयो ।
युवा सूचकाङ्कमा सुधार
कमनवेल्थ नेशन्सको संस्थाले तयार गरेको प्रतिवेदन अनुसार सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५ औँ स्थानमा भएकोमा अहिले ६८ देशलाई उछिनेर ७७ औँ स्थानमा आउन सफल भएको छ । सार्क मुलुकमा ४ औ स्थानमा रहेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस
परिषद्कै अगुवाइमा नै विगत २०७३ सालदेखि अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेको छ । यस पटक पनि भर्चुअल रुपमा ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । २०७२ सालमा स्थापना भएसँगै परिषद्ले उद्यमशीलता र नेतृत्व विकासमा प्राथमिकता दिई आफ्ना कार्यक्रम सञ्चालन गरेको छ ।
युवा उद्यम कार्यक्रम
स्थापना भएको वर्षदेखि परिषद्ले युवा उद्यम कार्यक्रम सञ्चालन गरेको छ । ३९७ युवा उद्यम समूहलाई पाँच लाखका दरले सहुलियत ऋणमा कर्जा उपलब्ध गराएर उद्यमशीलता बनाइको छ । अहिले उक्त समूहमा करिब दुई हजार युवा स्वरोगारमुखी भएका छन् । एक समूहमा पाँच जना रहेका छन् । परिषद्का उपाध्यक्ष ढुङ्गेलले घुम्ती कोषमा आधारित भएर स्वरोजगारीमुखी हुन चाहनेका लागि उद्यम कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
सहुलियतपूर्ण कर्जा
युवा परिषद्कै पहलमा स्वरोजगार बन्न चाहने युवाका लागि अहिले सहुलियतपूर्ण कर्जा प्रवाह भइरहेको छ । युवामा भएको ज्ञान, सीप, लक्ष्य र क्षमता अनुसार आफै स्वरोजगार हुने युवालाई दुई लाख देखि पाँच करोडसम्म कृषि र व्यवसायमा विभिन्न वाणिज्य बैङ्कले कर्जा उपलब्ध गराउँदै आएका छन् ।
अहिलेसम्म एक लाख २० हजार युवालाई उक्त ११ प्रकारका सहुलियतपूर्ण कर्जा लिई स्वरोजगार भएका छन् । बढीमा ५ प्रतिशतमा अनुदानमा ती युवालाई कर्जा पाइरहेका छन् । एउटा वाणिज्य बैकको शाखाले कम्तीमा १० वटा परियोजना र विकास बैङ्कले पाँच वटा परियोजनालाई अनिवार्य रुपमा कर्जा प्रवाह गर्नुपर्दछ । कार्यकारी उपाध्यक्षले यस बर्ष करिब ८० हजार परियोजनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताउनुभयो ।
नमुना युवा संसद्
परिषद्कै पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक बर्ष नमुना युवा संसद् कार्यक्रम हुँदै आएको छ । युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य र अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका सङ्घ र प्रदेशमा संसद् कार्यक्रम भइरहेको छ । यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ । ७५३ स्थानीय तहका छ हजार ७६३ वडामा वडा स्तरीय युवा क्लब गठन गरिएको छ ।
युवामैत्री स्थानीय तह
युवामैत्री स्थानीय तह छनौट तथा प्रोत्साहन कार्यक्रम हरेक बर्ष स्थानीय तहलाई छनौट गर्ने गरिन्छ । युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा युवा सुचाङ्कलाई हेरि परिषद्ले युवा मैत्री स्थानीय तह भनी घोषणा गरी पाँच लाख रुपियाँ पुरस्कार समेत प्रदान गरिँदै आइरहेको छ । विगतमा सातवटै प्रदेशबाट एक÷एक स्थानीय तहलाई गरिए पनि यस पटक देखि दुई वटा मात्र स्थानीय तहलाई युवामैत्री स्थानीय तह घोषणा गरिने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । ‘
नवप्रवर्तन केन्द्र’ स्थापना
परिषद्ले युवामा भएको ज्ञान प्रस्फुटन गराई उद्यमशीलता बनाउनका लागि ‘नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरिएको छ । नवप्रवर्तन केन्द्रमा युवाले आफूमा भएको ज्ञान, सीप क्षमता अनुसार काममा दक्ष बनाइ एउटा सफल उद्यमशील उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
परिषद्ले केन्द्रीय स्तरमा ‘राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र’ र प्रदेशस्तरमा ‘युवा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी थालेको हो । अहिले केन्द्रीय स्तरमा परिषद्ले काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नं। ६ स्थित आरुवारीचौरमा सञ्चालन गर्ने अन्तिम तयारी रहेको छ भने प्रदेश नं. १ को मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनमा यूथ इन्क्युवेशन केन्द्र स्थापना गर्ने तयारी गरिएको छ ।
उपाध्यक्ष ढुङ्गेलले सबै प्रदेशमा केन्द्र स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले चीन र अन्य देशमा भएको जस्तै युवालाई क्रियटिभ बनाउने केन्द्रजस्तै नेपालमा पनि त्यस्तै खालको केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । सातवटै प्रदेश पनि नवप्रवर्तन केन्द्र स्थापनाको कार्य अगाडि बढाएको छ ।
यसै गरी परिषद्ले युवा नेपाली वैज्ञानिकको राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । युवा वैज्ञानिक पलायन भइरहेको वेला नै नेपालमा नै अवसरको पर्याप्त छ भन्ने सन्देश दिनका लागि वैज्ञानिक सम्मेलन गर्दै आइरहेको हो ।यसै गरी परिषद्ले विपद् व्यवस्थापन, भूकम्प र कोरोना महामारीमा यस बर्ष एक हजार ६०० युवालाई परिचालन गरिरहेको छ ।
युवा विकासको क्षेत्रमा कार्यरत संघसंस्थाहरुसंगको सहकार्यमा युवालक्षित कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने उद्देश्यले हालसम्म परिषदमा ५०० वटा सामाजिक सङ्घसंस्थाहरू आबद्ध भएका छन् । यी संस्थाहरुसंगको सहकार्यमा निरन्तर युवालक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष जगदीश ऐनले नेपालमा युवाको क्षेत्रमा सरकारी तवरबाट हुनै संस्था नभइरहेको वेला परिषद्ले युवाको क्षमता विकासमा काम गरिरहेको बताउनुभयो ।
“परिषद् गठन भयसँगै युवाका मुद्दामा नीति निर्माणदेखि युवा सञ्जाल विस्तार भएको छ” उहाँले भन्नुभयो, “परिषद्ले युवाको क्षमता र नेतृत्व विकास गर्नुको साथै उद्यमशीलतामा पनि आकर्षण गराइरहेको छ । ”
उहाँका अनुसार परिषद्ले सञ्चालन गरेको कार्यक्रममध्ये नमुना युवा संसद्, युवा क्लब सञ्जाल जस्ता कार्यक्रमले धेरै युवाको नेतृत्वको विकासमा सहयोग पुर्याएको बताउनुभयो ।
उहाँले युवाको मुद्दालाई राज्यसँग जोड्नका लागि परिषद्ले पुलको काम गरेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्