तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार मार्ग करिडोरलाई कानुनी रुपमा व्यवस्थित गर्न पुनः निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्वाधार मार्ग करिडोरलाई कानुनी रुपमा व्यवस्थित गर्न सहरी विकास मन्त्रालयलाई पुनः निर्देशन दिएको छ । 

समितिको आज बसेको बैठकले पूर्वाधार मार्गलाई व्यवस्थित गर्ने आवश्यक तयारी गर्न यसअघि पनि निर्देशन दिएको जानकारी गराउँदै कानुन निर्माणको प्रक्रिया चाँडो अघि बढाउन पुनः निर्देशन दिएको हो । 

समितिले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि  बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको छ ।

यस्तै समितिले बजेट वक्तव्यमा समेटिएका कतिपय योजनाहरूको स्रोत सुनिश्चित नभएको प्रति ध्यानाकर्षण भएको भन्दै स्रोत सुनिश्चितताका आधारमा मात्र वार्षिक कार्य योजना बजेट वक्तव्यमा समेट्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले पूर्वाधार मार्ग करिडोरसँग सम्बन्धित कानुनी सहजताका लागि विद्यमान सहरी विकास सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयारी गरिएको जानकारी गराउनुभयो । 

उहाँले करिब ५० प्रतिशत आयोजना बजेट वक्तव्यमा समेटिए पनि स्रोत सुनिश्चित नगरिएको जानकारी दिनुहुँदै आर्थिक बर्ष २०७७/०७८ को मन्त्रालयगत वित्तीय प्रगति ८० प्रतिशत रहेको पनि जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरुले पूर्वाधार विकास र सहरी विकास आयोजनाहरूको गति सन्तोषजनक नदेखिएको र कतिपय आयोजनाको स्पष्ट योजना र अवधारणा नभएका कारण सहर थप कुरूप बनाइरहेको धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button