बढ्दै लापरबाही, फैलिँदै कोरोना

सुर्खेत । छिमेकी जिल्ला बाँकेसहित आसपास जिल्लाहरूमा पुनः दैनिक कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् ।
सङ्क्रमण पुनः फैलन थालेपछि विभिन्न स्थानमा पुनः निषेधाज्ञा थपिने क्रम जारी छ ।
दोस्रो चरणको कोरोनाले थला परिसकेको भारतमा काम गर्न पुगेका नेपालीहरू पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ ।
यद्यपि ! पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको दर घटे पनि जोखिम कायमै रहेको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट अझ बढी सङ्क्रामक र घातक भएको जनस्वास्थ्यविद्हरू बताउनुहुन्छ ।
“कोरोना जोखिम कम गर्नका लागि यति बेला हामीले निकै सचेत हुन जरुरी छ,” कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्य निर्देशक डा.रविन खड्काले भन्नुभयो, “स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अनावश्यक भिडभाडमा नजानेलगायत न्यूनतम नियमहरू पालना गर्न आवश्यक छ ।”
तर, यहाँ लापरबाही बढ्दो छ । भिडभाडमा, सार्वजनिक यातायातमा पनि मास्क नलगाई मानिसहरू निर्बाध रुपमा हिँडिरहेका हुन्छन् । न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नेहरू पनि कमै छन् । पछिल्ला दिनहरूमा सुर्खेत आसपासका जिल्लाहरूमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै उकालो लाग्दै गएको छ।
जनस्वास्थ्यका मापदण्डमा चरम लापरबाही गर्दा कोरोना भाइरसको सङ्क्रमणको दर पुनः उकालो लागेको हो ।
स्थानीय प्रशासनहरूले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै गरेको निषेधाज्ञा खुकुलो पारेका छन् ।
सुनसान बनेका सहर बजारहरूमा अहिले मान्छेको आवतजावत बाक्लिँदै गएको छ भने जनस्वास्थ्यका मापदण्डको पालन भएको देखिँदैन । जसका कारण, कोरोना पुनः फैलिने सङ्केत देखिएको हो ।








प्रतिक्रिया राख्नुहोस्