तपाईँ सुन्दै हुनुहुन्छः

थ्री स्टार क्लबद्वारा तीन खेलाडीसँगको सम्झौता नवीकरण

काठमाडौँ । ललितपुरको ‘ए’ डिभिजन क्लब थ्री स्टारले तीन खेलाडीसँगको सम्झौता नवीकरण गरेको छ ।


थ्री स्टारले शनिबार डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । थ्री स्टारले सम्झौता नवीकरणको अवधिबारे भने कुनै जानकारी गराएको छैन ।


सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग नजिकिँदै गर्दा थ्री स्टारले राष्ट्रिय टिमका अनन्त र सन्जोकसँगै निशानसँगको सम्झौता नवीकरण गरेको हो । 


‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।


अनन्तले थ्री स्टारबाट पछिल्लो सिजनको ‘ए’ डिभिजन लिग खेलेका थिए । उनलाई नयाँ सिजनका लागि मनाङ सहितका ठुला क्लबले प्रयास गरेका थिए । तर, अनन्तले थ्री स्टारमै बस्ने निधो गरेका हुन् ।


चोटका कारण उनले वैशाखमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) भने खेलेनन् । राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर अनन्तलाई अधिकांश क्लबले अनुबन्ध गर्न चाहेका थिए ।


सन्जोकले समेत पछिल्लो सिजनको लिग थ्री स्टारबाट खेलेका थिए ।  सन्जोक प्रेरित नेपालले गत चैतमा सम्पन्न थ्री नेसन्स कप फुटबलको उपाधि जितेको थियो ।


उनले फ्रेन्चाईज फुटबल एनएसएलमा काठमाडौँ रेजर्सबाट खेलेका थिए । एनएसएलको च्याम्पियन बनेको काठमाडौँका लागि उनको प्रदर्शन उत्कृष्ट थियो ।  


निशानले थ्री स्टारबाटै पछिल्लो सिजनको लिग खेलेका थिए । एनएसएलमा भने उनी धनगढी एफसीमा आबद्ध भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button