रगत अभावले उपचारमा समस्या

पर्वत । पर्वतमा रगतको अभाव हुँदा बिरामीहरूको उपचार प्रभावकारी हुन सकेको छैन ।
पर्वत अस्पतालले माग अनुसार रगतको उपलब्धता नहुँदा रगत चाहिने बेला बिरामीका आफन्त र ग्रुप मिल्ने मानिस खोजेर रगतको जोहो गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।
रक्तसञ्चारका लागि नेपाल रेडक्रस सोसाइटीले माग अनुसार रगत दिन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।
अस्पतालमा नियमित हुने अप्रेसन, डायलिसिस, दुर्घटनाका घाइते, सुत्केरी हुने महिलाका लागि रगत तयारी अवस्थामा नहुँदा समस्या भएको पहाडीले जानकारी दिनुभयो । पर्वत अस्पतालमा डायलिसिस गर्न मासिक ३०–४० जना बिरामी आउने गर्दछन् । सुत्केरी हुने महिलाहरू दैनिक जसो आउने गरेका छन् ।
जिल्लामा रगतको जिम्मा नेपाल रेडक्रस सोसाइटीसँग छ । रेडक्रसले सक्दो प्रयास गरेर रगतको आपूर्ति गर्दै आएको जनाएको छ । रेडक्रस सभापति रुद्रबहादुर रिमालले अस्पतालमा आवश्यक रगत हर हालतमा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
तर केही समय यता रक्तसञ्चार केन्द्रमा कार्यरत प्राविधिक कर्मचारी बेनी सरुवा भएर गएपछि नियमित रक्त सञ्चारमा समस्या भएको रिमालले जानकारी दिनुभयो । अस्पतालले मागेको खण्डमा बागलुङबाट समेत रगत ल्याएर समस्या समाधान गरेको सभापति रिमालले बताउनुभयो ।
पर्वत अस्पतालले भने रगत चाहिएको बेला उपलब्ध हुन नसकेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्