थप ३ हजार ७ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ३ हजार ७ सय २९ जना सङ्क्रमित भएका छन् ।
९ हजार ४ सय ९३ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ४ सय ३० जना तथा ६ हजार १ सय ८२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ९९ जना गरी जम्मा ३ हजार ७ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा १ हजार ८ सय ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ६५ हजार ५ सय ४८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार १९ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३४ हजार ९ सय ४२ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
जसमा ७ सय ३२ जनाले आइसियु र १ सय ५८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
सरकारले कोरोना सङ्क्रमणको महामारीलाई नियन्त्रण गर्न जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र १ लाख २० हजार ८ सय ९९ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्मको तथ्याङ्कमा ४४ लाख ३ हजार २१ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने २२ लाख ८ हजार ५५ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी भुटानले नेपालाई दिएको २ लाख ३० हजार मात्रा अष्ट्राजेनिकाको खोप नेपाल आइपुगेको छ ।
भुटानको डुक एयरलाइन्सको जहाजबाट सो मात्राको खोप आज काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्