तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

ललितपुर । गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता भएको छ ।  विद्यार्थीलाई विभिन्न उद्योग तथा व्यवसायमा तालिम, अध्ययन र अवलोकनका लागि सघाउने उद्देश्यले सङ्घका अध्यक्ष जगनाथ महर्जन र क्याम्पस प्रमुख शिवराज सञ्जेलले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष महर्जनले यस क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई बैङ्क, होटल, कृषि आदि क्षेत्रका काममा प्रशिक्षण दिलाएर  रोजगारीका लागि समेत वातावरण तयार गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोदावरीभित्रका सयौँ औद्योगिक प्रतिष्ठानमा क्षमता हेरी विद्यार्थीलाई काम गर्न पठाइनेछ । यसबाट विद्यार्थीमा कामको खोजी गर्ने झण्झट हुँदैन ।”

क्याम्पस प्रमुख सञ्जेलले अध्ययनरत विद्यार्थीलाई काममा लगाउनाका साथै विभिन्न विषयमा अध्ययन तथा  अनुसन्धान गर्नसमेत पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “ अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रमा अब्बल गराउन  नगरपालिका, बैङ्क र  सहकारी गरी १३ संस्थासँग पनि सम्झौता गरिसकेका छौ  ।” 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले समृद्ध गोदावरीको अभियान साकार पार्नका लागि यस कार्यले मलजल थप्ने विश्वास व्यक्त गर्नुभयो। उक्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्ने ६५० विद्यार्थीमध्ये १५० ले आफ्नो पेशा अपनाइसकेका र कोही आफ्नै काममा आबद्ध रहेकाले बाँकीले उक्त अवसर पाउने भएका छन्  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button