तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा

अर्घाखाँची । जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।”

उहाँका अनुसार प्लान्टले दिनमा ७० सिलिण्डर भर्ने क्षमता राख्दछ । गत वैशाख÷जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अब अक्सिजनको अभाव नहुने जानकारी दिनुभयो ।

जिल्लामा सङ्क्रमितका सङ्ख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड– १९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो ।

हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन हजार ५८७ पुगेको छ ।यसै गरी सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ८२५ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट जिल्लाको शीतगङ्गा नगरपालिकामा एकको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button