बागलुङको नारायणस्थानमा १० दिनका लागि निषेधाज्ञा जारी
बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १० दिनका लागि निषेधाज्ञा जारी भएको छ ।
आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा जिल्ला सुरक्षा समितिले आउँदो साउन ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
वडा कार्यालयको अनुरोधमा बागलुङ नगरपालिकाले निषेधाज्ञाका लागि सिफारिस गरेको थियो ।
अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने गरी निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
गत वैशाख ८ गते जिल्ला सुरक्षा समितिको बैठकले बागलुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा यो बर्ष पहिलो पटक निषेधाज्ञा जारी गरेको थियो ।
साउनको तेस्रो सातासम्म आउँदा केही जिल्लाभर निषेधाज्ञा भएर केही खुकुलो भएको थियो । आज रातीबाट लागु हुने गरी नारायणस्थानमा पुन कडाइ गरिएको हो ।
निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन, मल बिउ, स्वास्थ्य सेवा र विपद् व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधनबाहेकका गाडी चल्न रोक लगाइएको छ ।
बागलुङ नगरपालिकाको वडा नं १४ मा सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्था, सहकारी कार्यालय र वडा कार्यालय पनि बन्द गरिएको छ ।
यस क्षेत्रमा बाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ । नारायणस्थानमा ४४ जनामा एकै पटक सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमितमध्ये एक जनाको कोभिड–१९ का कारण पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्