कोरोना सङ्क्रमण कम भएसँगै पर्सामा आलोपालो प्रणाली हट्यो

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना सङ्क्रमण नियन्त्रणमा आएसँगै स्थानीय तह अनुसार आलोपालो रुपमा प्रदान गर्दै आएको सेवालाई साउन २४ गतेदेखि नियमित गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै अगामी साउन २४ गतेदेखि नियमित रुपमा सबै स्थानीय तहहरूमा नियमित सेवा प्रदान गरिने जनाएको हो ।
हाल जिल्लामा कोरोना सङ्क्रमण घट्दै गएको तथा सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै नियमित सेवा सुचारु गर्न लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
साउन २४ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सबै स्थानीय तहका सेवाग्राहीहरूलाई स्थानीय प्रशासनले नियमित सेवा प्रदान गर्ने पौडेलले बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमण कम हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले गत असार ६ गतेदेखि स्थानीय तहअनुसार आलोपालो रुपमा सेवा प्रदान गर्दै आएको थियो ।
अहिले राजधानी लगायत देशका केही भागमा कोरोना संक्रमण बढ्दै गएको भए पनि यता पर्सामा भने सङ्क्रमण नियन्त्रणमा आएको छ ।









प्रतिक्रिया राख्नुहोस्