धनुषामा कोरोनाको जोखिम भए पनि कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक भिड

जनकपुरधाम । कोरोना सङ्क्रमणको जोखिम भए पनि सरकारी कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक भिड हुने गरेका कारणले संक्रमण फैलिने खतरा बढेर गएको छ ।
अहिले धनुषा जिल्लामा ३२ गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी भए पनि सरकारी कार्यालयहरूमा अरू समय जस्तो भिड बढेको छ । खास गरेर जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात, श्रम तथा बैङ्क एवं वित्तीय संस्थाहरूमा सेवाग्राहीहरूको अत्यधिक भिड बढेर गएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही प्रवेश हुने विन्दुमा नै प्रहरीले निगरानी गरेर मास्क अनिवार्य गरेको भए पनि अन्य कार्यालयहरूमा विना मास्क सेवाग्राहीहरू भिड भएको ठाउँमा जाने, लाइनमा बसेर सेवा लिइरहेका सबै तीर देखिइएको छ ।
कोरोनाका जोखिम रहेको भन्दै शिक्षण संस्थाहरू सुचारु भएको छैन । शिक्षण संस्थाहरूमा पठन पाठन भएको छैन भने जिम, स्वीमिङ्ग पुल, मठ मंन्दिरहरु बन्द रहे पनि बजार क्षेत्रमा सर्वसाधारणको निक्कै भिड देखिन थालेको छ । मठ मन्दिरमा पनि दर्शनार्थीहरु जाने क्रम रोकिएको छैन ।

सरकारी कार्यालयहरूमा भिड बढ्नुको कारणमा अहिले धानको रोपाई करिब करिब सकिन लागेको वेलामा अड्केका कामहरू गराउनेको भिड बढेको कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता तथा राहदानी बनाउन आउनेको सङ्ख्या बढेर गएको छ ।
खास गरेर नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता, राहदानी बनाउनका लागि आवेदन बुझाउनेको संख्यामा निक्कै बढेको छ । कोरोनाको अवस्थामा सुधार भएपछि जिल्ला प्रशासन कार्यालयमा बन्द गरेको सेवाहरू क्रमशः खोल्दै सहज गर्दै गएको कारणले नै सेवाग्राहीको भिड बढेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको निगरानी प्रहरीले गरेर मास्क अनिवार्य गरे पनि अन्य कार्यालयहरूमा मास्क लगाउनेको सङ्ख्यामा कमी देखिन थालेको छ । जनकपुरधामको बजार क्षेत्रमा अहिले ५० प्रतिशत व्यक्तिहरू मात्र मास्क लगाउने गरेको पाइन्छ ।
मालपोत, नापी, यातायात व्यवस्था कार्यालय तथा श्रम कार्यालयमा मास्कको पनि निगरानी गर्ने काम भएको छैन । त्यहाँ अत्यधिक भिड रहने भएकाले कोरोनाको संक्रमण फैलिने खतरा बढ्न थालेको छ । कोरोना घटेको मात्र हो संक्रमण अन्त्य भएको छैन चिकित्सकहरूले बताउनु भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले मास्क तथा स्वास्थ्य सुरक्षा सावधानीमा कडाइ गर्ने निर्णय भए पनि यसको पालना हुन सकेको छैन । आफ्नो स्वास्थ्य प्रति हरेक व्यक्ति आफै सजग एवं सचेत रहन जरुरी रहेको चिकित्सकहरूले जानकारी दिनु भएको छ ।
कोरोनाको तेस्रो लहर आउने जोखिम भएकाले स्वास्थ्य मापदण्ड हरेकले पालना गर्न आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्