तपाईँ सुन्दै हुनुहुन्छः

विन्धेवासिनीका ५३ घरधुरी पहिरोको उच्च जोखिममा

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेबासिनीको सरानी गाउँका ५३ घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो ।

गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरूले आफूलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरिरहेका छन् ।

पहिरो र गाउँको दुरी सय मिटरको रहेको छ । पहिरोका कारण स्थानीयबासीहरुको भोक निन्द्रा नै हराएको स्थानीय गोबिन्द खड्काले बताउनु भयो । उहाँले भन्नुभयो  “पहिरो बगिरहेको छ,खेतहरू भासिएको छ, कति बेला के हुने हो थाहै छैन ।”

सरानीको तल्लो टोलका २८ घर माथिल्लो दलित टोलमा २५ घरधुरी पहिरोको जोखिममा परेको वडाध्यक्ष रमेशबहादुर खड्काले बताउनु भयो।

उहाँले भन्नुभयो ( “स्थलगत पहिरोको निरीक्षण गरेका छौ, उच्च जोखिममा रहेको परिवारलाई सुरक्षाकर्मीहरूको सहायतामा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको छ ।” दुई वर्ष पहिले पालिकाको वडा नम्बर ७ नन्देगडाका सुख्खा पहिरो पीडितहरूका लागि गाउँपालिकाकाले नमुना बस्ती समेत निमार्ण गरिदिएको छ ।

पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका थिए । गत वर्ष बाढी पहिरोका कारण जिल्लामा ठूलो धनजनको क्षति भएको थियो । भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनीबजार बगाउँदा १७ जनाको ज्यान गएको थियो ।

सरानीको पहिरो पीडितको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख डिएसपी तुल्सिराम अर्याल, सशस्त्र प्रहरी सहितको टोली पनि घटनास्थल पुगेको छ । टोलीले अवस्थाबारे जानकारी लिने र उद्धार तथा राहतका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर योजना बनाउने गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button