अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ‘अन्तर्राष्ट्रिय युवा दिवस’ साताव्यापी रुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । दिवसलाई सफल पार्न युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ ।
दिगो विकासका लक्ष्य ३ ले निर्देश गरे बमोजिम स्वस्थ र समुन्नत समाज निर्माणमा युवाहरूको सहभागितासँग सम्बन्धित रहेको देखिन्छ । यो दिवस मनाउनुको प्रमुख उद्देश्य युवाका सवालमा लगानी सहितको प्रतिबद्धतामा वृद्धि गर्नु, युवा सहभागिता र साझेदारीमा वृद्धि गर्नु र युवाहरूका बीच अन्तरसाँस्कृतिक समझदारीमा वृद्धि गर्नु भनिएको छ ।
परिषद्ले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवस यही साउन २८ गते (अगस्ट १२) तारिखका दिन मनाइँदै छ ।
दिवसका दिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम गर्ने भएको उहाँले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसका कारण यस पटक पनि भर्चुअलरुपमा दिवस मनाउन थालिएको बताउनुभयो ।
परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार यही साउन १८ गतेदेखि सप्ताहव्यापी रुपमा युवा दिवसका अवसरमा कलाकार अभिमुखीकरण भिडियो निर्माण प्रतियोगिता रक्तदान कार्यक्रम वैदेशिक रोजगार वरदान कि अभिसाप, युवा जागरण लोक दोहोरी गीत प्रतियोगिता सहुलियतपूर्ण कर्जाका अवसर र चुनौती विषयक सरोकारवालाहरूका बिच अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
यस्तै वतृत्वकला प्रतियोगिता (स्थानीय उत्पादन र खाद्य प्रणालीमा रूपान्तरण),यौनिक तथा अल्पसङ्ख्यक समूहसँगको अन्तरक्रिया कार्यक्रम बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भूमिका अपांगता भएका युवाहरूको राजनीतिक सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम, युवा र उद्यमशीलता अन्तरक्रिया कार्यक्रम पनि गरिने छ ।
दिवस मनाउनका लागि ७७ जिल्ला युवा समिति र राष्ट्रिय युवा सञ्जाललाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । जिल्लास्तरमा युवासम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।
भिडियो प्रतियोगिताको आयोजना
परिषद्को आयोजनामा वातावरणले खाद्यमा पारेको प्रभावबारे भिडियो प्रतियोगिता आयोजना गरिएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नारामा आधारित भएर नवीनता र मौलिकता झल्किने छोटो भिडियो प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिता तीन मिनेटको हुनुपर्ने र कुनै समुदायको सामाजिक र अन्य कुनै आस्थामा चोट पुर्याउने खालको हुनु नहुने परिषद्का सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो । भिडियोमा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार र सबभन्दा बढी हेरिने भिडियोलाई १० हजार पुरस्कार प्रदान गरिने छ । भिडियो यही साउन २५गतेभित्र आइसक्नुपर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्