बीरगंजमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुँदै
बीरगंज । बीरगंज भन्सार परिसरमा २८ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण कार्य भइरहेको छ ।
कोरोना सङ्क्रमणको तेस्रो लहरलाई लक्षित गर्दै वीरगन्ज रक्सौल सीमा नाका भएर भित्रिने नेपाली नागरिकलाई राख्नका लागि बीरगंज भन्सार परिसरमा २८ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण कार्य तीव्र रुपमा भइरहेको हो ।
वीरगन्ज भन्सार कार्यालय परिसरको दक्षिणतर्फ रहेको गोदामको खाली जग्गामा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिएको छ ।
सङ्क्रमणको बेला भारतबाट भित्रिनेहरूलाई क्वारेनटाइनमा राखेर सीमा क्षेत्रको आवागमन सहज पार्न होल्डिङ सेन्टर निर्माण भइरहेको हो ।
एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई खान, बस्न र चिकित्सा सेवा निःशुल्क रूपमा उपलब्ध गराइ सीमा क्षेत्रमा आवतजावत गर्दा हुने सङ्क्रामक नियन्त्रणका होल्डिङ सेन्टर निर्माण गर्ने नेपाल सरकारको योजना अनुरूप निर्माण कार्य तीव्र गतिमा भई रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा २८ करोडको लागतमा निर्माण भइरहेको होल्डिङ सेन्टरको ठेक्का हनुमान कन्स्ट्रक्सन, ललितपुरले लिएको छ ।
गत असार २५ गतेदेखि निर्माण सुरु भएको सेन्टरमा अहिले दैनिक सयभन्दा बढी कामदार खटिरहेका छन् ।
सेन्टर भित्र प्रशासनिक भवन, सेन्ट्रल किचेन तथा २० जना र ५० जना अट्ने क्वारेनटाइन हल गरी कुल २२ वटा भवन एक साथ निर्माण भइरहेको छ ।
चण्डीप्रसाद गण श्रीपुर वीरगंजका मेजर नैना बस्नेतले केन्द्रीय योजना अनुसार नै होल्डिङ सेन्टर निर्माणको काम भइरहेको बताउनुहुँदै भदौको दोस्रो सातामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि निषेधाज्ञाको कारण काम करिब एक महिना लम्बिन सक्ने बताउनुभयो ।
आगामी असोजको दोस्रो साता सेन्टरको निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ अहिले तीव्र गतिमा भवन निर्माण भइरहेको बस्नेतले बताउनुभयो ।
कोरोना सङ्क्रमणसँगै सीमा क्षेत्रबाट हुने अन्य महामारी तथा संक्रमण नियन्त्रणका लागि रक्सौल हुँदै नेपाल भित्रिने नागरिकहरूलाई खान, बस्न, स्वास्थ्य सेवा सहितको क्वारेनटाइनमा राख्ने व्यवस्थाका लागि होल्डिङ सेन्टर प्रभावकारी हुने बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्