तपाईँ सुन्दै हुनुहुन्छः

१५६ विद्यालय भवन पुनः निर्माण

लमजुङ । गोरखा भूकम्पले क्षति पु¥याएका १५६ विद्यालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका ती नयाँ भवन बनेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनः निर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनः निर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।

यसै गरी ३६ खानेपानी धारा पुनः निर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ । उहाँले भन्नुभयो, “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुन सकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” आर्थिक वर्ष २०७३÷०७४ मा विद्यालय भवन पुनः निर्माण सुरुआत भएको थियो ।

उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनः निर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये ती विद्यालयका भवनमा भूकम्पले क्षति पु¥याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनः निर्माण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button