भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

चितवन । बुद्ध एयरले यही साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ ।
कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधवार र शुक्रवार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान सुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् ।
भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ उडान गरिरहेको छ ।
यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान सुरु गरेको हो ।
शुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान सुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताउनुभयो ।
सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो ।
चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्