तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ । बुधवार मात्र चार हजार १०७ मा कोरोना पुष्टि भएको थियो ।

दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको हो । हस्तान्तरित सामग्री १२ हजार ५०० सर्जिकल मास्क, पाँच हजार पञ्जा, ९६० बोतल स्यानिटाइजर छन् । कोरोनाको पहिलो लहरमा पनि ती दुई संस्थाका सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ती सामग्रीसहित सात भेन्टिलेटर वितरण गरिएको सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भई मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएका उहाँलेभन्नुभयो, “महामारी रोमथामको एक मात्र उपाय खोप नै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पु¥याउन मैले प्राथमिकता दिएको छु ।यसका लागिखोप उत्पादक देश अमेरिका, चीन र बेलायतले आफ्ना रेडक्रसमार्फतनेपाल रेडक्रसलाईनिःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । चिनियाँ रेडक्रसमार्फत नेपाल रेडक्रसलाई एकलाख मात्रा खोप आउँदै छ ।”

सोसाइटीले महामारीको शुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ ।मास्क, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापन झोला, अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सरकारलाई सहयोग गर्दै आएको छ । साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना,क्वारेनटिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा आवश्यक ब्ल्याङ्केट, तारपोलियन र स्वास्थ्य तथा सरसफाइका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो ।

सोसाइटीका स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णिकार र कोकाकोलाका कन्ट्री सप्लाई चेन डाइरेक्टर के दुराई मुरुङ्गनले संयुक्त रूपमा शिक्षण अस्पतालका प्राडा रमेश महर्जन, सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा मीना कुँवर र एशोसिएशनका अध्यक्ष डा लोचन कार्कीलाई छुट्टाछुट्टै कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा निर्देशक डा राजकर्णिकारले भन्नुभयो, “नेपाल रेडक्रस र दि कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने , अग्र पङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वयंसेवकको संरक्षण गर्ने र‘स्टप दि स्प्रिड’ अभियानलाई मूर्तरूप दिने प्रयास हो ।”

सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा कुँवरले महामारीबाट आम नागरिकलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मीलाई दैनिक प्रयोग हुने सामग्री धेरै मात्रामा खपत रहने चर्चा गर्दै प्राप्त सामग्रीले थप ऊर्जा प्राप्त गर्ने बताउनुभयो ।

एशोसिएशनका अध्यक्ष डा कार्कीले सोसाइटीले महामारीका समयमा अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको व्यक्तिगत स्वास्थ्य सुरक्षामा पु¥याउँदै आएको सहयोग प्रशंसनीय छ भन्नुभयो ।यस्तै पाटन अस्पताल लगनखेल, जनमैत्री अस्पताल बालाजुमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिने निर्देशक डा कर्णिकारले जानकारी दिनुभयो । उहाँका अनुसार साझेदारीअन्तर्गत रक्तसञ्चार सेवाका प्राविधिक, स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकलाई सामग्री सहयोग गरिने जनाइएको छ ।

सरकारले सञ्चालन गरिराखेको खोप केन्द्रमा सोसाइटीका स्वयंसेवक परिचालित छन् । सोसाइटीका सञ्चार अधिकृत कृष्ण नेपालले विभिन्न उमेर समूहका अति विपन्न अपाङ्गता भएका व्यक्तिलाई खोपको सहज पहुँचका लागि यातायातको समेत व्यवस्थापनका लागि सोसाइटी र कोकाकोलाका बिचमा साझेदारी भएको बताउनुभयो ।

सो साझेदारीमा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, धादिङ र गण्डकी प्रदेशको कास्की, तनहुँ, गोरखा, लमजुङ र नवलपरासीपूर्वका जिल्लामा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सोही अभियानअन्तर्गत ती जिल्लाका ३१ हजार लाभान्वित हुने जनाइएको छ । महामारी सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सोसाइटीले स्वास्थ्य, सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेनटिन सहयोग,खोप व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तहलाई सहयोग गरिराखेको छ ।यसका लागि सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ,विभिन्न निकाय, दाता र साझेदारसँग मिलेर मानवीय सेवा गरिरहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button