६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसामान ओसारपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसामान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ ।
प्रहरीले यो एक साताभित्र नेपालगन्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसामान, क.प्र.००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैध रूपमा ल्याइएको रु तीन लाख २४ हजार १० र चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जिपमा राजस्व छली ल्याइएको रु दुई लाख ८५७ बराबरको अवैध मालसामान बरामद गरेको थियो ।
दाङदेखि जाजरकोटसम्म रा१क ३७ नम्बरको मिनी ट्रकमा राजस्व छली अवैध रूपमा लैजाँदै गरेको रु तीन ९६ हजार, नेपालगन्जदेखि सुर्खेतसम्म क.प्र.०२००१ ख ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको रु पाँच लाख ६८ हजार ३९९ को अवैध सिमेन्ट सरिया, नेपालगन्जदेखि भे१ज ९४३ नम्बरको जिप र ना८ख १३७ नम्बरको फोर्स गाडीमा ल्याइएको रु सात लाख ६६ हजार ८० बराबरको अवैध मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
त्यस्तै काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना६ख ६३३८ नम्बरको बसबाट रु ४० लाख २६ हजारको अवैध मालसामान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । “हामीले बुधवार सम्म अवैध रूपमा कर छली गरेर ओसारपसार गरिएको कुल जम्मा रु ६८ लाख ३४ हजार ४७९ बराबरको अवैध मालसामान बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसमा संलग्न आठ सवारी चालकलाई पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ ।” राज्यलाई कर छली गरी अवैध मालसामान ओसारपसार गर्नेलाई उच्च निगरानी राख्ने काम गरिएको उहाँले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरूलाई २२ वर्ष आठ महिना २८ दिन कैद र रु ५९ हजार १०० जरिवाना तोकिएको छ ।
त्यस्तै लागु औषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागु औषध प्रहरीले बरामद गरेको छ । “यो साताभित्र २९७ भााडाबर्तनसहित नौ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,” उहाँले भन्नुभयो, “दुई सय २० ग्राम गाँजा पनि बरामद गरिएको छ ।”
त्यस्तै सुर्खेत प्रहरीले जुवा खालबाट रु दुई लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ । रु एक लाख २३ हजारको ६१.५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्