तपाईँ सुन्दै हुनुहुन्छः

१५३ फर्मलाई ४५ लाख जरिवाना

वीरगञ्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरूको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारबाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारबाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको हो । सबैभन्दा बढी वीरगन्जस्थित एसआर रेडिमेड उद्योगलाई रु तीन लाख जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाउने गरिएको पाइएकाले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो ।

यसै गरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सलाई रु दुई लाख ५१ हजार र माई स्थान चोकमा रहेका गगन ट्रेडिङ हाउसलाई रु दुई लाख जरिवाना गरिएको सो कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका–३ स्थित घर संसार पसललाई रु तीन लाख जरिवाना गरिएको छ । ती व्यापारिक फर्मले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरी कारबाही गरिएको निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले राससलाई बताउनुभयो ।

उक्त कार्यालयले सो आर्थिक वर्षमा पर्सामा ६३, बारामा १८, रौतहटमा आठ, सर्लाहीमा १८, धनुषामा छ, महोत्तरीमा आठ, मकवानपुरमा नौ र चितवनमा २३ फर्मको अनुगमन गरी जरिवाना गरेको हो । नेपालभर रहेका वाणिज्य कार्यालयमध्ये सबैभन्दा बढी राजस्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको दाबी गर्दै कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले राससलाई भन्नुभयो, “जरिवाना गरिएको फर्महरुले तोकिएकै समयमा कार्यालयमा उपस्थित भई जरिवाना बुझाएका हुन् ।” उहाँका अनुसार कार्यालयले प्रदेश २ को आठ जिल्लासहित मकवानपुर र चितवनसहित १० जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button