तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग

file photo

काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बैठकमा सत्तारुढ नेपाली काङ्ग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसपी)ले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गर्नुभयो ।

उहाँले धामीको खोजीका लागि पहल गर्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभयो । उहाँले आफ्नै भूमि भएर सदरमुकाम आवतजावत गर्र्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्नुभएको छ ।

लामो समय हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेकोप्रति गुनासो राख्दै उहाँले वर्तमान सरकारबाट जनताले परिणाम खोजेको बताउनुभयो ।

काँग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले प्रतिपक्षी दलबाट आएको अभिव्यक्तिप्रति इङ्गित गर्दै सरकार कुन आधारमा निर्दलीय सरकार भयो भनी प्रतिप्रश्न गर्नुभयो । उहाँले संसद्बाटै बहुमतको आधारमा विश्वासको मत प्राप्त सरकार भएको स्पष्ट पार्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।

सांसद रायमाझीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षमा तुइन विस्थापित गर्ने घोषणा घोषणामै सीमित रहेको बताउनुभयो । उहाँले अझै धेरै ठाउँमा तुइन यथावत् रहेको र महाकालीमा मात्रै सात वटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराउनुभयो ।

सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले दार्चुलाको महाकाली नदीमा भएको घटनाका विषयमा छानबिन गरी सत्य तथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।

भारतसँगको उच्चस्तरीय वार्तामार्फत समस्या समाधान गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । उहाँले जाजरकोटको एक गाउँपालिकाका वडाध्यक्षले सेवाग्राहीमाथि ज्यादती गरेकाले सत्य तथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button