नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटेल निर्माण गरिँदै

काठमाडौँ।कोरोना महामारीबिच काठमाडौँको नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटेल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटेल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो ।
आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटेललाई चेन होटेलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिनुभयो । विश्वमा छ हजारभन्दा बढी चेन होटेल रहेको हिल्टन होटेलको नेपालमा पहिलो पटक चेन होटेल निर्माण गर्न लागिएको हो ।
सन् २०२० मा होटेल निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ बाट होटेल निर्माण सुरु गरे पनि कोरोना महामारीका कारण होटेल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटेल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्र गतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।
पाँचतारे लक्जरी होटेल हिल्टन काठमाडौँमा १७५ गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटेलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटेलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।
उक्त होटेलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्वीमिङ पुल रहनेछ । होटेलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।
अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटेल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउनुहुन्छ । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उहाँको भनाइ छ ।
निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटेलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटेलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चार तारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटेल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बेटिकसमेत सञ्चालनमा छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्