तपाईँ सुन्दै हुनुहुन्छः

बिएड प्रथम वर्षको परीक्षा दिँदै गरेका परीक्षार्थी मृत फेला

खोटाङ । खोटाङमा बिएड प्रथम वर्षको परीक्षा दिँदै गरेका परीक्षार्थी मृत फेला परेका छन् । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पा परीक्षा केन्द्रबाट बिएड प्रथम वर्षको परीक्षा दिँदै गरेका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ४६ वर्षीय शिवराज राई कोठामा मृत फेला परेका हुन् ।

रावाबेसी गाउँपालिका–२ खार्पास्थित लुकराज श्रेष्ठको घरमा बसेर परीक्षा दिँदै गरेका राई सोमबार बिहान कोठामै मृत फेला परेको रावा क्याम्पसका उपप्राध्यापक गोपाल बस्नेतले बताउनुभयो । बेलुकाको खाना खाएर सुतेका राई बिहान परीक्षा सुरु हुने बेलासम्म नउठेपछि हेर्न जाँदा कोठामा मृत फेला परेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी क्याम्पसमा अध्ययनरत राई परीक्षाका लागि रावा क्याम्पस खार्पा पुगेका थिए ।

आइतबार राती अबेरसम्म पढेका राई बिहान भने मृत फेला परेका हुन् । उनले आफ्नो साथीहरूलाई राती अबेर सम्म पढ्ने र बिहान ढिला उठेको अवस्थामा उठाउन भनेको उपप्राध्यापक बस्नेतले बताउनुभयो । ‘राती अबेर सम्म पढ्छु, बिहान ढिलो उठेँ भने उठाउनु है भनेर पढ्न बसेका रहेछन्,’ बस्नेतले भने, ‘बिहान परीक्षा सुरु हुने बेलासम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा फेला पर्नु भएको हो ।’ तीन वटा विषयको परीक्षा दिइसकेका राई सोमबार ऐच्छिक अङ्ग्रेजीको परीक्षा दिने तयारीमा थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । उनले उच्च रक्तचापको औषधी खाइरहेको भेटिएको छ । आफन्तको उपस्थितिमा शव उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button