मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

काठमाडौँ । ललितपुर बार एशोसियसनको आयोजना र मेडियसन नेपालको प्राविधिक सहयोगमा ८ दिने (४८ घण्टा) मेलमिलाप सम्बन्धी आधारभूत तालिम बिहीबार सम्पन्न भएको छ ।
साउन ७ गते बाट सञ्चालन भएको आधारभूत तालिम साउन १४ गते बिहीबार सम्म सञ्चालन भएको थियो । तालिम ८ दिन सम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निरन्तर सञ्चालन भएको थियो ।
तालिममा कानून तथा अन्य क्षेत्रका ३० जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए ।

साउन ८ गते सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी. र नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको समुपस्थितीमा उद्घाटन भएको तालिम १४ गते बिहीबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष दीपककुमार कार्कीको प्रमुख आतिथ्यता, नेपाल बार एशोसियसनका महासचिव लिलामणी पौडेल र वरिष्ठ अधिवक्ता, अधिवक्ताहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश कार्कीले मेलमिलाप आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले मेलमिलाप हुन सक्ने विवादहरू अदालतसम्म पुगे पनि मेलमिलाप मार्फत मिलाउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले मेलमिलापका सञ्जालहरू बढ्न थाले पनि उपलब्धि भने बढ्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल बार एशोसियसनका महासचिव लिलामणी पौडेलले कानूनी क्षेत्रमा आचारसंहिताको पालना नगरेको, पैसाको चलखेल हुने गरेको भन्ने सुनिने गरेकोले त्यसबाट सचेत हुनुपर्ने बताउनुभयो ।
निरन्तर ८ दिनसम्म चलेको तालिमको तालिमको संयोजन ललितपुर बार एशोसियसनका सचिव कृष्णप्रसाद सुवेदीले गर्नु भएको थियो । तालिमका प्रमुख प्रशिक्षकका रुपमा अधिवक्ता सन्तोस राना मगर, प्रशिक्षक अधिवक्ता प्रवीण नापित र अधिवक्ता विमल ज्ञवालीले तालिम प्रदान गर्नु भएको थियो । तीनै जना प्रशिक्षकहरूले अथक मेहनत र आफ्ना अनुभवहरू सहित प्रशिक्षण दिनुभएको तालिममा सहभागी प्रशिक्षार्थीहरुले बताए ।
तालिमका दौरानमा वरिष्ठ अधिवक्ता, अधिवक्ता, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश र अनुभवी विषयबिज्ञहरुले तालिम दिनुभएको सहभागीहरूले बताए ।

समापन कार्यक्रममा महिला प्रशिक्षार्थी सहभागीका तर्फबाट प्रज्ञा ज्ञवाली र पुरुष सहभागीका तर्फबाट उमाकान्त न्यौपानेले तालिमका अनुभव, आफूले सिकेका सिप र तालिमले आउँदा दिनमा मेलमिलाप सम्बन्धी कार्य गर्दा अपनाउनु पर्ने सजगता र उपायहरूको बारेमा मन्तव्य राखेका थिए ।
तालिम समापन समारोहमा प्रमुख प्रशिक्षक सन्तोस राना मगरले सहभागीहरूले तालिममा सिकेका कुरालाई आत्मासाथ गरी काम गर्नुहुनेमा विश्वास व्यक्त गर्नुभयो ।
विषयबिज्ञहरुले कथा, कविता र आफूले भोगेका अनुभवको प्रस्तुति सहित मेलमिलाप सम्बन्धका विद्यमान कानून, व्यवहारिक समस्या, कठिनाइ र मेलमिलाप गराउँदा अपनाइने प्रक्रिया, चरण, विधि र विविध विषयका तालिम दिनु भएको थियो । सहभागीहरूलाई मेलमिलापकर्ता, पक्षहरू, अवलोकनकर्ता समेत भएर विभिन्न विधामा अभिनय सहित तालिम दिइएको थियो ।

तालिमले सहभागीहरूमा कानूनी ज्ञानका साथै मेलमिलाप सम्बन्धमा व्यवहारिक ज्ञान प्राप्त हुनुका साथै समाज र अदालत भएका मेलमिलाप हुन सक्ने विवाद र समस्यालाई मेलमिलाप मार्फत समाधान गरी समाज र अदालत समेतलाई सहयोग पुर्याउने सहभागीहरूले बताए ।
नेपालको विद्यमान कानूनले देवानी मुद्दाहरूमा र निश्चित प्रकारका फौजदारी प्रकृतिका मुद्दाहरूमा वडा, पालिका, जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा समेत मेलमिलाप प्रक्रिया मार्फत मुद्दा टुङ्ग्याउनु पर्नेमा जोड दिएको छ । स्थानीय तह र अदालतमा समेत मेलमिलाप गराउन मेलमिलापकर्ताको अद्यावधिक गरिने गरिएको छ ।










प्रतिक्रिया राख्नुहोस्