गौरीशङ्कर बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्कायमा पढाई सुरु हुँदै

काठमाडौँ । दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पसले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह (एमबिएस) पढाई सञ्चालन गर्ने भएको छ ।
क्याम्पसले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह (एमबिएस) पढाई सञ्चालन अनुमति पाएसँगै शैक्षिक गुणस्तरका वृद्धिका लागि राय सुझाव लिन आज एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्नुहुँदै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जिल्लाको प्रतिष्ठा बनेको क्याम्पसको समग्र शैक्षिक गुणस्तर सुधार एवं प्रतिस्पर्धाका लागि शैक्षिक दिग्गजहरू राखेर कार्य पत्रसहितको कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य विशाल खड्काले यो क्याम्पस दोलखाको साझा पहिचान भएकाले एकिकृत रुपमा लाग्न आवश्यक भएको बताउनुभयो ।

एमाले सांसद शान्ति पाख्रिनले व्यवस्थापन विषयसँगै अन्य प्राविधिक शिक्षालाई पनि जोड दिन आग्रह गर्नुभयो ।
त्यसै गरी नेपाली कांग्रेस दोलखाका सभापति रुद बहादुर खड्काले आगामी दिनमा क्याम्पसले दूर दराजमा रहेका विद्यार्थीलाई सहज र सुलभ ढङ्गले शैक्षिक व्यवस्था गर्नुपर्ने सुझाव राख्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. हरि दर्शन श्रेष्ठले क्याम्पसमा ग्रामीण विकासको अध्ययन पनि सञ्चालन गर्न सुझाउँदै विश्वविद्यालयबाट विभिन्न विधाका प्राध्यापकहरूलाई अतिथिको रुपमा निश्चित समयका लागि पारिश्रमिक दिएर प्राध्यापनमा लैजान सके झनै व्यवस्थापन पक्ष र विद्यार्थीलाई फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूले अबका दिनमा शैक्षिक संस्था खोल्नुभन्दा भएको शैक्षिक संस्थामा छात्रवृत्तिको व्यवस्था गराउनु पर्ने, जिल्लालाई शैक्षिक हब बनाउन सबै मिलेर लाग्नुपर्ने, संस्थागत सहयोग र समन्वय आवश्यक भएको जस्ता सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, क्याम्पस संस्थापकहरू आत्मकृष्ण श्रेष्ठ ,वैकुण्ठ प्रधान, देवेन्द्र राज शर्मा, सुन्दर खड्का, दिव्य ध्वज कार्की, संस्कृतिविद् , सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले विज्ञहरूको सुझावलाई मनन गर्दै आगामी दिनमा यस्को शैक्षिक गुणस्तर एवं प्रतिस्पर्धाका लागि काम गर्ने बताउनुभयो ।

उहाँले क्याम्पसको स्थापनाका निम्ति अमूल्य योगदान दिने सबै अग्रजहरूको सम्मान र इतिहासको जगेर्ना गर्न पुस्तिका निकाल्ने तयारी भएको पनि जानकारी गराउनुभयो ।
त्रिभुवन विश्व विद्यालयले विभिन्न जिल्लाका २३ सामुदायिक क्याम्पसहरूलाई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह (एमबिएस) पढाउन अनुमति दिएसँगै दोलखाको चरिकोटस्थित गौरीशङ्कर क्याम्पसमा पनि यो विषयमा पढाई सुरु हुन लागेको हो ।
भदौदेखि सुरु हुने व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढ्न छिमेकी जिल्ला रामेछाप र सिन्धुपाल्चोकका विद्यार्थी समेत आउन सक्ने अपेक्षा समितिले राखेको छ ।

करिब ११ सय विद्यार्थी र २५ जना प्राध्यापक रहेको यस क्याम्पसमा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन संकायका विषयहरूमा स्नातकोत्तर तहसम्म अध्ययन भइरहेको र समाजशास्त्र विषयमा पनि स्नातकोत्तर सञ्चालन गर्ने प्रक्रियामा रहेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्