झापामा कोरोना संक्रमण बढ्दै गएका १० स्थानीय तहमा सिल

भद्रपुर, झापा । कोभिड–१९ को संक्रमण उच्च रहेको झापाका १० स्थानीय तहमा सिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि आफ्नो पालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि झापाका ७ नगरपालिका र ३ गाउँपालिकाले आफ्नो क्षेत्रमा सिलबन्दी गरेका हुन् ।
जिल्लाका मेचीनगर, हल्दिबारी, बुद्ध शान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडले आफ्नो क्षेत्र सिल गरेका छन् भने जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका तथा गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकवल गाउँपालिकाले सिल गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल चलाइरहेको बुझिएको छ ।
पछिल्लो पटक मेचीनगर र बिर्तामोड नगरपालिकाले बुधवार रातिदेखि एक साताका लागि सिल गरेका छन् ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमण बढिरहेको पालिकाले नै आवश्यकता अनुसार सिलबन्दीको निर्णय गर्न सक्ने बताउनुभयो ।
स्थानीय तहहरूले सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारीसाधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको जनाएका छन् । राजमार्गहरूको आवत–जावतलाई भने रोकिएको छैन ।
स्थानीय तहले आफ्नो पालिका क्षेत्र सिल गर्न थालेपछि त्यस क्षेत्रका उद्योग–व्यवसाय प्रभावित भएका छन् ।
झापामा दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा पछिल्लो २४ घण्टामा झापामा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने पाँच जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्