त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइ हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ ।
यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो ।
विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिनुभयो ।
दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।
विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै सङ्काय डिन डा.कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयमा बुधवार आयोजित विषयगत परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा सामाजिक अभियन्ता भरत जङ्गमले नेपाल सरकारका विभिन्न निकायका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको बताउनुहुँदै पाँच दशकपछि आफ्नो सपना साकार भएकामा खुसी व्यक्त गर्नुभयो ।
भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उहाँको जिकिर थियो ।
अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा.शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगारीको अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्