चितवनबाट २६ हजार ३ सय ४४ जनाले लिए नागरिकता

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट गत आर्थिक बर्ष २०७७/२०७८ मा २६ हजारभन्दा बढीले नागरिकता लिएका छन् ।
कार्यालयका अनुसार सो अवधिमा वंशजको आधारमा नागरिकता वितरण, प्रतिलिपि नागरिकता र वैवाहिक अङ्गीकृत नागरिकता गरी २६ हजार ३ सय ४४ जनाले नागरिकता लिएका हुन् ।
जसअनुसार उक्त आवमा १३ हजार १८ वंशजको आधारमा, १३ हजार ३ सय ६ प्रतिलिपि नागरिकता र २० वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
कार्यालयले अघिल्लो आव २०७६/०७७ मा सबै प्रकृतिका नागरिकता गरी १४ हजार ९ सय ४६ जनालाई नागरिकता वितरण गरेको थियो भने आव २०७५, ०७६मा २२ हजार ७ सय ६७ जनालाई नागरिकता वितरण गरेको तथ्याङ्क छ ।
हालसम्म कार्यालयमा १५ हजार ६९६ पुरानो नागरिकता अभिलेखीकरण भएको छ ।
कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोनाका कारण नागरिकता वितरणमा समेत असर परेको बताउनुभयो ।
पटक पटकको निषेधाज्ञा र लकडाउनको कारण कार्यालयका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहेकोले नागरिकता वितरण कार्य प्रभावित भएको उहाँको भनाई छ ।
निषेधाज्ञा खुकुलो भएसँगै पछिल्ला दिनहरूमा नागरिकता लिनेको चाप बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
यस्तै कार्यालयले गत आवमा ९ हजार ५ सय २८ जनाले राहदानी लिएका छन् ।
अघिल्लो आवमा ९ हजार ९ सय ६ र आर्थिक बर्ष २०७५ /२०७६मा १२ हजार ५ सय ६७ जनाले राहदानी लिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्