तपाईँ सुन्दै हुनुहुन्छः

ठाउँ ठाउँमा पहिरो जाँदा बैतडीका ग्रामीण सडकहरू अवरुद्ध

बैतडी । विगत १ साता देखिको अविरल वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जाँदा बैतडी जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भएका छन् ।

सर्वे डिजाइन तथा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी मनपरी निर्माण गरिएका ग्रामीण सडकमा रहेका टेवा पर्खाल तथा पुल पुलेसा भत्किदा यातायात सेवा अवरुद्ध भएको हो ।

मेलौली पञ्चेश्वर, दुदीलाखान गाजरी, श्रीभावर पुर्चौडीहाट, बिप्पेकटाल सिण्णेखेत, सिल्लेगडा कटौज पानी र अनारखोली कैलपाल सडकका ठाउँ ठाउँमा पहिरो गई यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय कृषकहरूले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारीले बजार नपाई घरमै सड्ने गरेको र आवतजावतमा कठिनाइ भएको पाटन नगरपालिका वडा नं. ७ का कृषक रमेश पाण्डेले बताउनुभयो ।

सडक अवरुद्ध भई यातायात सञ्चालन  नहुँदा उहाँ जस्ता दर्जनौँ कृषकहरूले उत्पादन गरेको तरकारी सडेर जानुका साथै दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएको पुर्चौडीका स्थानीय नरबहादुर रैकाल दुखेसो पोख्नुभयो  ।

प्रदेश सरकार तथा स्थानीय सरकारको साझेदारीमा निर्माण गरिएका सडकहरू बाढी पहिरोका कारण अवरुद्ध भएकाले आपसी समन्वय गरी यातायात खुलाउने प्रयास भइरहेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button