तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारीलाई कारबाही होस् : सांसद

file photo

काठमाडौँ । राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरेर पीडितलाई न्याय दिन माग गर्नुभयो ।

सांसद विमला घिमिरेले भन्नुभयो, “गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब चार हजार २०० विद्यालयका लागि रु छ अर्ब रकम विनियोजन भएअनुसार खर्च भएको थियो, स्तरोन्नतिमा खर्च भएको छ, यो वर्ष पनि थप रकम विनियोजन भएको छ, तर सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने शङ्का बढेको छ, त्यसो नहोस् ।”

विमला राई पौडेलले औपचारिक वा अनौपचारिक कुनै पनि क्षेत्रमा काम गर्ने घरेलु कामदार कोरोना भाइरस फैलिएसँगै जोखिममा रहेको जनाउँदै सङ्घीय सरकारले वडा स्तरमा घरेलु श्रमिकको पञ्जीकरण गर्दै परिचयपत्र वितरण गरेर प्राथमिकताका साथ कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

सांसद शारदादेवी भट्टले भन्नुभयो, “निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन, त्यसका बारेमा रहस्य छ, कतै गरीबको छोरी बलात्कार भएकै कारण पत्ता नलागेकै हो कि रु म जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न अनुरोध गर्दछु ।”

सिङ्गबहादुर विश्वकर्माले नागरितासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित हुने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नुभयो । सांसद विना पोखरेलले राष्ट्रियसभामा खानेपानीको व्यवस्थासँगै सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button