युवाको रोजाइमा पर्दै महाकालीको साहसिक जलयात्रा

कञ्चनपुर । महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (¥याफ्टिङ्ग ) युवाको रोजाइमा पर्न थालेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका—९ को मुसेट्टीदेखि खल्लासम्म युवाले र्याफ्टिङ गर्दै आइरहेका छन्।
पछिल्लो समय तराईको गर्मीबाट मुक्ति पाउन र रमाइलो गर्नका लागि र्याफ्टिङ गर्न जाने युवाको सङ्ख्या बढ्दै जान थालेको छ । यसअघि भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदीमा र्याफ्टिङ गर्दै आइरहेको थियो । गत वर्षको फागुनमा पानी दिवसको अवसर पारी भीमदत्त नगरपालिकाले र्याफ्टिङ को परीक्षण सुरु गरेको हो।
त्यसपछि अहिले हप्तामा दुईदेखि तीन दिनसम्म युवाको टोली र्याफ्टिङ का लागि पुग्ने गरेको मुसेट्टीवासीको भनाइ छ । परीक्षणपछि अहिले दुईदेशीय सीमा नदीमा कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी अघि बढेको छ । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले खल्ला, टुँडिखेल र मुसेट्टीका केही युवालाई ¥याफ्टिङ्गका लागि तालीम दिएको र तालीम लिएर आएका युवालाई व्यावसायिक बनाउने योजनामा रहेको बताउनु भयो ।
महाकाली नदीको बहु उपयोग नीतिअनुसार साहसिक जलयात्रा सुरु गर्ने योजना अघि सारिएको विष्टले बताउनुभयो । त्यसका लागि भारत सरकारसित पनि समन्वय गरी छलफल अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
जलयात्रा सञ्चालनबाट खुल्ला, टुँडिखेल र मुसेट्टीका बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने विश्वास गरिएको छ । साहसिक जलयात्रासँगै तीनै बस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन गर्ने लक्ष्य लिइएको छ । तीन बस्तीमा ५२ ढोके, साइलेन्ट रिभर र पुरानो सिद्धनाथ मन्दिरलगायतका धार्मिक पर्यटकीय स्थल रहेका छन् । र्याफ्टिङ ले पर्यटकीय स्थलको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्