पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड, काठमाडौंबीच भएको विभिन्न सात बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको हो ।
नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समावेशी र संवृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारी पत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिनु भयो । पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैङ्कको तर्फबाट वा बैङ्कको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न स्मार्ट सिटी परियोजना निर्माण गर्न लागेको हो ।
विकास तथा कार्यान्वयन गर्ने उद्देश्यले विभिन्न सात वटा बुँदालाई मुख्य आधार बनाएर समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरप्रमुख खरेलले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्