सडक दुर्घटनामा एक जनाको मृत्यु

दाङ । दाङमा सडक दुर्घटनामा परी एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणी भण्डारीको सडक विस्तारको क्रममा खनिएको खाल्डोमा परेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल तुलसीपुर ७ पर्सेनीमा खाडलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
उक्त खाडल तुलसीपुर–घोराही सडक खण्ड चार लेनमा बिस्तार गर्न भन्दै खनिएको थियो। सडक बिस्तार गर्ने क्रममा सडकको बीचमा ह्युमपाइप राख्न खनेको खाडल समयमै नपुर्दा त्यसैमा परेर भण्डारीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले मोटरसाइकल उक्त खाल्डोमा परेर दुर्घटना भएको खबर आज बिहान ५ बजे मात्रै आएको बताउनुभयो।
‘दुर्घटनामा परेर अचेत भएका उनलाई उद्धार गरेर तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गर्नुभयो, शवको पोस्टमार्टम गर्ने तयारी छ,’ उहाँले बताउनुभयो ।
तुलसीपुर–घोराही चार लेन सडक बिस्तार गर्न ठाउँ ठाउँमा ह्युमपाइप राख्न गत वर्ष नै सडक खने पनि निर्माण कम्पनीको लापरबाहीले खाडल नपुरेर त्यसै छाडिएको छ। ह्युमपाइप राखे पनि सडकका खाडल पुरिएका छैनन्।








प्रतिक्रिया राख्नुहोस्