कम भोल्टेजको विद्युत् प्रवाह गरिँदा स्थानीय मर्कामा
सिन्धुपाल्चोक । सदरमुकाम चौतारा र आसपासको क्षेत्रमा कम भोल्टेजको विद्युत् प्रवाह गरिँदा स्थानीय मर्कामा परेका छन् ।
एक महिना अघिदेखि नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लामो साँघुबाट २२० भोल्ट विद्युत् प्रसारण हुनुपर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका भर १४० भोल्ट भन्दा कम मात्र प्रसारण भएको छ । जसको कारण फ्रिज, पानी तान्ने मोटर, मिल, कम्प्युटरजस्ता विद्युतीय उपकरणहरू बिग्रिएको स्थानीयहरूले बताएका छन् ।
कम भोल्टेजको विद्युत् आउँदा विद्युतीय उपकरणहरू त बिग्रिएका र मोबाइलजस्ता अत्यावश्यक उपकरण चार्ज गर्न समेत समस्या देखिएको विद्यार्थी नेता चौतारा साँगाचोकगढी नगरपालिका– ३ का मिलन लामाले बताउनुभयो ।
लिफ्टबाट खानेपानीको आपूर्ति हुँदै आएको ठाउँमा बित्तिकै कारण लिफ्ट नचल्दा सिङ्गो गाउँले नै पानी खान नपाइरहेको अवस्था रहेको उहाँले बताउनुभयो । विद्युतीय समस्यालाई तत्काल समाधान गर्न उहाँले प्राधिकरणलाई अनुरोध गर्नुभयो ।
विद्युत् प्रवाहलाई व्यवस्थित बनाउने भन्दै चौतारा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा गत वैशाख २१ गतेबाट ट्रान्सफर्मर राखी सञ्चालनमा ल्याइएको भए पनि असार ३ गतेबाट सो ट्रान्सफर्मर बन्द छ ।
आवश्यक ब्याट्री नभएका कारण ट्रान्सफर्मर सञ्चालन गर्न नसकिएको कर्मचारीहरू बताउँछन् । सो ट्रान्सफर्मर सञ्चालनमा आउन सके पनि केही हदसम्म विद्युत् समस्या समाधान हुन सक्ने चौतारा साँगाचोकगढी नगरपालिका– ५ का स्थानीय कुमार श्रेष्ठले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रिक इन्जिनियर राजन भण्डारीले असार १ को बाढी पहिरोका कारण मेलम्ची क्षेत्रको सवस्टेशन प्रभावित बन्न पुगेका कारण सो क्षेत्रमा विद्युत् प्रवाह गर्नुपर्दा विद्युतीय भार बढी पर्न गएको बताउनुभयो ।
समस्याको बारेमा माथिल्लो निकायमा कुरा गरिसकेका र तत्काल यो समस्याको सम्बोधन होला भन्ने आशामा रहेको उहाँले बताउनुभयो ।
विद्युत् पूरा नआउँदा फ्रिज लगायतका विद्युतीय उपकरण चलाउन नपाइएको चौतारामा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायी किशोर पुरीको गुनासो छ । बत्तीका कारण व्यवसाय नै धरापमा परेको, सामानहरू पनि बिग्रिएको उहाँले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिहरुले विद्युत्जस्तो संवेदनशील विषयमा चासो नराख्दा आफूहरू मर्कामा पर्नुपरेको स्थानीयहरूको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्