रम्भा गाउँपालिकाको बजेट शिक्षा र स्वास्थ्य लक्षित
पाल्पा । चालू आर्थिक वर्षमा रम्भा गाउँपालिकाको बजेट शिक्षा र स्वास्थ्य लक्षित रहेको छ ।
रम्भा गाउँपालिकाले स्वास्थ्य क्षेत्रका साथै शिक्षाको बजेटलाई प्राथमिकता दिएको जनाएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै दुई÷दुई करोड बजेट शिक्षा र स्वास्थ्यका क्षेत्रमा विनियोजन गर्नु राम्रो भएको गाउँपालिकाबासीको बुझाई छ ।
गाउँपालिकाको नवौँ गाउँ सभामा पेस गरेको नीति तथा कार्यक्रम, बजेट सार्वजनिक कार्यक्रममा बजेट प्राथमिकता शिक्षा र स्वास्थ्यमा नै थियो । शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई यस पटक प्राथमिकतामा राखेर बजेट बनाउँदा जनताले राहतको महसुस गरेको जनप्रतिनिधिहरूको भनाई छ ।
यस वर्षको बजेटमा बेरोजगारी अवस्थामा रहेका युवालाई कृषि र पशुपालनमा आकर्षित गराउने रहेको छ । उनीहरूलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने योजना अघि सारेको हो । व्यावसायिक किसानलाई ऋण तथा अनुदानको व्यवस्था, संस्थागत सुत्केरीलाई प्रोत्साहन, कोभिड नियन्त्रणलाई प्रभावकारी व्यवस्थापन तथा तयारी, प्राविधिक शिक्षाको विस्तार, सूचना प्रविधि र इन्टरनेटको पहुँच विस्तार, कम्प्युटर शिक्षा, अङ्ग्रेजी शिक्षालाई सञ्चालन गर्ने नीति राम्रो भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
अहिले भएका सडकको स्तरोन्नति गर्ने, सहकारीको माध्यमबाट रोजगारी र कृषि विकास, पर्यटन प्रवर्द्धनको लागि गुरुयोजना निर्माण पर्यटकीय क्षेत्रको पहिचान गर्ने नीतिलाई अघि सारेको अध्यक्ष भण्डारीको भनाई छ ।
रम्भाले खानेपानी तथा सरसफाइको क्षेत्रमा एक घर एक धाराको नीतिलाई अवलम्बन गर्दै स्वच्छता खानेपानी व्यवस्थापन, सरसफाइको क्षेत्रमा काम गर्ने, उत्पादकत्व बढाउन सिँचाइको व्यवस्था, काठका पोलहरूको विस्थापन गरी फलामको पोल राख्ने, पूर्वाधार विकासमा भवन निर्माणहरू लगायतको काम गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो ।
तोकिएका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गराउने दायित्व गाउँपालिकाको भएकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत हरेक क्षेत्रले विगतमा भन्दा बढी सुधार पाउने अपेक्षा जनताको रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्