धरानमा प्रदेश १ कै ठुलो शीत गृह निर्माण

सुनसरी । धरान–१३ मा रहेको कृषि उपज बजार स्थलमा प्रदेश १ कै ठुलो शीत गृह निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।
धरानको कृषि उपज बजारमा स्थलको शीत गृहमा १६५ टन भण्डारण गर्न सकिने जनाएको छ ।
९० टन क्षमताको शीत गृह निर्माण सम्पन्न भई यो साता भित्र सञ्चालनमा ल्याउने तयारी रहेको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।
यसभन्दा अघि आर्थिक वर्ष २०७६÷०७७ मा ७५ टन क्षमताको शीत गृह सञ्चालनमा ल्याइसकेको कृषि उपज बजार स्थलले थप ९० टन क्षमताको शीत गृह सञ्चालनमा ल्याएको हो ।
यो सँगै अव धरानको कृषि उपज बजार स्थलमा १ सय ६५ टन क्षमताको शीत गृह सञ्चालनमा आउन लागेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तरगत प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालयको ५० लाख (७५ प्रतिशत) र कृषि बजार व्यवस्थापन समितिको १७ लाख गरी कुल ६७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो ।
३ वटा चेम्बर रहेको सो शीत गृहमा प्रत्येक चेम्बरको क्षमता ३० टनको रहेको छ । जम्मा क्षमता ९० टनको क्षमता रहेकोले अव तरकारीजन्य बस्तुलाई शीत गृहमा राखेर सहजरुपमा आवश्यकता अनुसार बिक्री वितरण र किसानले भण्डारण गर्न सक्नेछन् ।
कृषि उपज बजार स्थलले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पनि प्रदेश सरकार कै सहयोगमा ७५ टनको शीत गृह बनाई सेवा दिई रहेको छ ।
कृषि उपज बजार स्थलमा निर्माण भएको शीत गृहमा किसानले प्रतिकेजी ३ रुपैयाँका दरले तीन महिना आफ्नो उत्पादन भण्डारण गर्न सक्नेछन् भने व्यापारीले प्रतिकेजी ५ रुपैयाँका दरले भण्डारण गर्न पाउने कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्