तपाईँ सुन्दै हुनुहुन्छः

गल्कोटका ३ सय ४१ खरका घरमा जस्तापाताको छाना

फाइल तस्बिर

बागलुङ । बागलुङको गलकोट नगरपालिकाका ३ सय ४१ घर खरको छानाबाट मुक्त भएका छन् । नगरका १ सय ५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको हो । नगरपालिकाका अनुसार, अब ६७ घरका छाना फेर्न बाँकी छ ।

जस्तापाता खरिदका लागि नगरपालिकाले अनुदान दिँदै आएको र चालु आर्थिक वर्षभित्र नगरका सबै खरका छाना विस्थापित गर्ने योजना रहेको प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिनुभयो । सङ्घ सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमको बजेट पनि खरका छानामुक्त अभियानमा खर्च भइरहेको छ ।

उक्त कार्यक्रमका लागि छनोटमा परेका परिवारले ५० हजार रुपैयाँ अनुदान पाउने गरेका छन् । यस वर्ष पनि सोही शीर्षकका लागि बजेट माग गरेर पठाइएको नगरप्रमुख भरत शर्मा गरैले बताउनुभयो ।

खरको छानोमुनि कष्टकर जीवन गुजारिरहेका परिवारलाई सुरक्षित आवास दिलाउन नगर सहारा बनेको हो । आर्थिक रूपमा सक्षम परिवारले भने आफैँ पनि खर हटाएर जस्तापाताले घर छाउन थालेका छन् । जस्तापाता खरिदमा नगरपालिकाले सघाए पनि छानो छाउने काम भने अनुदान पाउने परिवार आफैँले गर्दै आएका छन् ।

आर्थिक विपन्नताका कारण खरको छानोमुनि आश्रय लिइरहेका परिवारहरूले वर्षौँदेखि समस्या झेल्न बाध्य भएका थिए । वर्षायाममा पानी चुहिने, पटक– पटक खरले छाइरहनुपर्ने झन्झटबाट अब उनीहरूलाई मुक्ति मिलेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button