तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको मना गाउँ पहिरोका जोखिममा, स्थानीय त्रसित

बाजुरा । बडिमालिका नगरपालिका वडा नम्बर –५ स्थित मना गाउँ पहिरोको उच्च जोखिममा परेको छ । 

शुक्रवार राती आएको अविरल वर्षाले घरको आँगन भासिन थालेपछि मना गाउँ पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष बलबहादुर थापाले बताउनुभयो । 

शुक्रवार राती १२ः०० बजे तिर आएको अविरल वर्षाले पश्चिम नमुना टोल, शीतल टोल, रोटी सल्लेडी टोल, चौतारा टोल, र बाँउकुडा टोल, रुघाखोचा गरी सबै बस्ती पहिरोको जोखिममा परेका वडा अध्यक्ष थापाले बताउनुभयो । 

वर्षाका कारण पहिरो खस्दा रोपाइ गरिसकेका खेतहरूमा समेत क्षति पुर्‍याएपछि स्थानीय पिडामा परेका छन् । 

आफ्नो घर पछाडिको पुरै पर्खाल भत्किएपछि रात भरी तनावका कारण सुत्न समेत नसकेको स्थानीय बुँदे ल्वारले बताउनुभयो ।

ठाउँ –ठाउँमा जमिन भासिएकाले जतिखेर पनि पहिरो गई क्षति पुग्न सक्ने चिन्ताले गाउँ नै अहिले त्रसित बनेको अर्का स्थानीय लछिराम साउदले बताउनुभयो  । 

वडा कार्यालयको सभा हल पछाडि पहिरो गएपछि सबैभन्दा बढी पश्चिम नमुना टोल जोखिममा रहेको पाइएको छ ।

जोखिम व्यवस्थापनका लागि वडा कार्यालयको तर्फबाट आवश्यक समन्वयसहित पहलको काम आफूहरूले गरिरहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

अविरल वर्षाले गर्दा बाजुराका अरू विभिन्न ठाउँमा समेत जोखिम बढेको र बालीनाली नष्ट गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button