रुपन्देहीमा महिलाहरूको मात्रै लगानीमा अस्पताल सञ्चालनको तयारी

रुपन्देही । रुपन्देहीमा महिलाहरूको मात्रै लगानी रहेको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।
तिलोत्तमा नगरपालिकाको वडा नं ४ मा विभिन्न क्षेत्रमा आबद्ध रहेको २० जना महिलाहरूको सक्रियतामा यस्तो अस्पताल सञ्चालनको तयारी गरिएको हो ।
लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्सालले आज उक्त अस्पतालको शिलान्यास गर्नुभयो ।
तिलोत्तमा वडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको शिलान्यास गर्नुहुँदै मन्त्री पाण्डेले महिला तथा बालबालिका मैत्री अस्पताल बनाउन अगाडि सर्नुभएका अगुवा महिलाहरूलाई उत्साह दिनुहुँदै महिला नेतृत्वप्रति सम्मान व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले निर्माण हुने अस्पतालले महिला र बालबालिकाका लागि उत्कृष्ट सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
आगामी ७ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण सुरु गरिएको उक्त अस्पतालमा २० जना महिला सेयर सदस्य रहेका छन् ।
पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाइएको संस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिनुभयो । अस्पतालमा ३ करोडभन्दा बढीको लगानी रहने उहाँले जानकारी दिनुभयो ।
अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति व्यवस्थापन गरिने सचिव उमा अर्यालले जानकारी दिनुभयो ।
जिल्लामा यसअघि आम्दा नेपालको सहयोगमा महिला तथा बालबालिका अस्पताल बुटवलमा चलिरहेको छ । यसमा सेवाग्राही महिला तथा बालबालिका धेरैको चाप देखेपछि तिलोत्तमामा यस प्रकारको अस्पतालको योजना बनेको हो ।








प्रतिक्रिया राख्नुहोस्