पुर्वमन्त्री रानाद्वारा योजनाहरूको निरीक्षण

कैलाली । पुर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाले सङ्घीय सरकारबाट आएका योजनाहरूको आज निरीक्षण गर्नुभएको छ ।
उहाँले धनगढी उपमहानगरपालि १३ मा निर्माण भइरहेको राना सांस्कृतिक सङ्ग्रहालय, भगवती सामुदायिक भवन, मटियारी सामुदायिक भवन, वासुदेवी माध्यमिक विद्यालयको भवन, सुकुटी खोलामा निर्माण भएको तटबन्धको निरीक्षण गर्नुभएको हो ।

“मेरो पहलमा विनियोजन भएको रकमबाट केही योजना सम्पन्न भइसकेका छन् केही निर्माणाधीन छन्” उहाँले भन्नुभयो, “कामले गति पाएको छ । नागरिकलाई सहज भएको छ ।”
उहाँले राना सांस्कृतिक सङ्ग्रहालय निर्माणपछि कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना समुदायको पहिचान अझै स्थापित हुने बताउनुभयो । रानाकै पहलमा सरकारले राना समुदायलाई सूचीकृत गरेको थियो ।स्थानीयवासीले सङ्घीय सरकारबाट विनियोजित बजेटबाट प्रभावकारी काम भएको बताएका थिए ।
सुकुटी खोलामा तटबन्ध नहुँदा यहाँ बर्सेनि खेती योग्य जमिन कटान भइरहेको थियो । तटबन्धपछि स्थानीयले खेती योग्य जमिन जोगिएको बताए ।

निवर्तमान मन्त्री रानाको पहलमा धनगढीमा करिब १ सय योजना रहेका छन् । ती मध्ये केही ठुला योजना छन् जसले धनगढीको मुहार फेर्न ठूलो भूमिका निर्वाह गर्ने छ ।
रानाको पहलमा खुटिया पुल, उर्मा, भादा हुँदै गदरिया फूलबारी रिङ भदौमा टेन्डर हुने बताइएको छ । हुलाकी सडकको स्तरोन्नतिको लागि जिरो किलोमिटर क्याम्पस रोडदेखि मनेहरा जङ्गलसम्म चारलेन र मनेहरा जङ्गलदेखि भजनीसम्म दुई लेन सडक निर्माण हुने भएको छ ।
धनगढी खुटिया दिपायल फास्ट ट्याकको पनि टेन्डर भइसकेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्