तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्यभन्दा ५७ प्रतिशत बढी राजस्व सङ्कलन

गलकोट। आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा रु ८६ करोड २० लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब ३५ करोड ५५ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ५७ दशमलव २६ प्रतिशत बढी हो ।

सङ्कलित कूल राजस्वमध्ये आयकरतर्फ ४८ दशमलव ७७ प्रतिशत अर्थात् रु ७९ करोड सात लाख ९१, बहाल करतर्फ ११ दशमलव४७ प्रतिशत अर्थात् रु दुई करोड ५० लाख ७७ हजार, ब्याजकरतर्फ १७ दशमलव ३४ प्रतिशत अर्थात् रु नौ करोड ६७ लाख ५७ हजार, मूल्य अभिवृद्धि करतर्फ ९८ दशमलव ४ प्रतिशत अर्थात् रु ४१ करोड ७६ लाख ७८ हजार र अन्तःशुल्कतर्फ ९८ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई करोड ४० लाख ९३ हजार सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख जनकराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु २१ करोड ५४ लाख बक्यौता र राजस्व सम्भाव्यता क्षेत्रको अनुगमन तथा कर कानुनको प्रभावकारी कार्यान्वयन हुँदा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य सेवा करतर्फ रु एक लाख ८७ हजार र शिक्षा सेवा शुल्कतर्फ रु ८६ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यस्तै, गत आवमा आन्तरिक राजस्व कार्यालय बागलुङले तीन हजार ४४० व्यावसायिक करदाता, चार हजार ९१२ व्यक्तिगत करदाता र ४२ जना अग्रिम कर कट्टी गरी जम्मा आठ हजार ३९४ करदाता थपिएका छन् । तीमध्ये २०१ जना मूल्य अभिवृद्धि करमा र १५० जना अन्तःशुल्कमा थपिएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

आयकरतर्फ रु १५ करोड ९१ लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु पाँच करोड ६२ लाख ८९ हजार गरी कूल रु २१ करोड ५४ लाख १५ हजार बक्यौता असुली भएको छ । कार्यालयले गत आवमा कूल ६३ करदाताको छानबिन, परीक्षण र अनुसन्धान गरी आयकरतर्फ रु दुई करोड ७६ लाख ५४ हजार तथा मूल्य अभिवृद्धि करतर्फ रु पाँच करोड ३५ लाख पाँच हजार थप कर निर्धारण गरिएको छ । यस्तै, १०२ करदाताको द्रुत छानबिनबाट रु ३५ लाख ७९ हजार कर असुल तथा १८२ करदाताको अनुगमनबाट रु तीन लाख पाँच हजार जरिवाना सङ्कलन गरिएको छ ।

उक्त अवधिमा सात हजार ३८ करतादाको विवरण अद्यावधिक तथा एक हजार १५३ करदाताको बायोमेट्रिक रजिस्ट्रेसन र १० वटा करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button