दलित समुदायको परम्परागत पेसालाई आधुनिकीकरण गरिने

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले दलित समुदायको परम्परागत पेसालाई आधुनिकीकरण गर्ने भएको छ ।
दलितसँग नगरप्रमुख कार्यक्रममार्फत दलितका परम्परागत पेसालाई आधुनिकीकरण गर्न लागिएको हो ।
यो कार्यक्रमबाट दलित समुदायलाई आत्मनिर्भर गराउने लक्ष्य रहेको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज सिग्देलले बताउनुभयो ।
परम्परागत आरनको आधुनिकीकरण, सिलाई तथा छालाको काममा आबद्ध व्यक्तिलाई तालिम एवं मेसिन खरिद गरी अनुदानमा दिने नीति तथा कार्यक्रममा समावेश गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले यो कार्यक्रमका सञ्चालन गर्न चालु आर्थिक वर्षको बजेटमा १५ लाख रुपैयाँ छुट्टाएको छ ।
“दलितका पुर्ख्यौली पेसा लोपोन्मुख हुँदै जान थालेपछि नगरपालिकाले संरक्षण र सम्बद्र्धनको कदम चालेको हो’, उहाँले भन्नुभयो ।
यस्तै नगरपालिकाले ‘ग’ वर्गको पहेँलो अपाङ्गता परिचय पत्र लिएका दृष्टिविहीन, सुस्त मनस्थिति भएकाको जीवनयापनमा सहजीकरण गर्न भत्ताको व्यवस्था गरेको छ । व्यास नगरपालिकामा ग वर्गको परिचय पत्र लिनेको सङ्ख्या एक सय ७९ रहेको छ ।
नगरपालिकाले वार्षिक २ हजार ५ सय रुपैयाँ भत्ता व्यवस्था गरेकोमा त्यसलाई बढाएर चार हजार रुपैयाँ बनाएको उपप्रमुख मिरा जोशीले बताउनुभयो ।
नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क अद्यावधिक गरी नेपाल सरकार र प्रदेश सरकारबाट सहयोग उपलब्ध हनु नसकेका ग वर्गका लागि वार्षिक एकमुष्ट भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
विशेष क्षमता भएका बालबालिकालाई अध्यापन गराउने विद्यालयलाई अपाङ्गमैत्री बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ ।नगरभित्र निर्माण गरिने सार्वजनिक प्रयोगका भवन मठमन्दिर लगायतका संरचना पनि अपाङ्गता मैत्री बनाइने भएको छ ।
नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकहरूको तथ्याङ्क अद्यावधिक गरी उचित सम्मान र स्याहारको व्यवस्था समेत यो बर्ष मिलाइएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्