सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले कोरोना बढेसँगै सुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भमा जतिसक्दो चाँडो सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सासंदहरुले अघिल्लो सरकार अन्य दलका कारणले भन्दा पनि आफ्नै कारणले असफल भएको टिप्पणी गर्नुभयो ।
सांसदहरुले वर्तमान सरकारलाई विकासका कामलाई गति दिँदै किसान र मजदुरको पक्षमा काम गर्न आग्रह समेत गर्नुभयो ।
सांसदहरुले बजारमा वस्तु खरिद गर्दा उपभोक्ता ठगिने गरेकाले वस्तुको बिक्री वितरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
नागरिकता सम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडी बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नु पर्ने, देशका विभिन्न भागमा भइरहेका हत्या, हिंसा, बलात्कारका घटना रोक्न प्रभावकारी कदम चाल्नुपर्ने लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले “न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७” पेस गर्नभयो ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८” खारेज सम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्