तपाईँ सुन्दै हुनुहुन्छः

बँदेलबाट मकै बचाउन रातभरि जाग्राम

कर्णाली। बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् । वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीयवासी रुद्र पौडेलले जानकारी दिनुभयो ।

“एक वर्षसम्म पुग्ने गरी उत्पादन हुने अन्नबाली मकै जङ्गली जनावरले दैनिक खाएर सिध्याउन थाले”, पौडेलले भन्नुभयो, “अरू उपाय केही नभएपछि त्यसको बचावटका लागि रातभर बारीको पाटामा जाग्राम बस्दै आएका छौँ ।” श्रम गरेर पनि भोकमरी सामना गर्नुपर्ने अवस्थाले किसानलाई चिन्तित बनाएको उहाँले बताउनुभयो ।

गाउँलेले समूह बनाई पालैपालो गरेर रातभर मकै रखौली गर्दै आएको स्थानीयवासी थलिराम गौतमले दुखेसो गर्नुभयो । “बँदेल एक दिन आएको ठाउँमा अर्को दिन आउँदैन, नयाँ ठाउँबाट आएर मकै सखाप पारिसक्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो । पटक–पटक यही पीडाले सताएकाले स्थानीय निकायलाई गुहारिएको गौतमले जनाउनुभयो ।

स्थानीय सरकारले यो समस्या समाधान गर्ने आशामा रहेको स्थानीय किसान टङ्क उपाध्यायले बताउनुभयो । उहाँका अनुसार साबिकको गढी गाविस–३, ४, ५ र ६ का मेहेपानी, लादे, गोठीकाँडा, बयलकाडालगायतका गाउँमा बँदेलले मकैलगायतका बाली नष्ट गर्दै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button