प्रभावकारी बन्दै विपन्न लक्षित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

पाल्पा । लुम्बिनी प्रदेशबाट सबै पालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम तानसेन नगरपालिकामा प्रभावकारी बन्दै गएको छ ।
विपन्न वर्गको सुदृढीकरणका लागि रोजगारको सृजना गरी समुदायको विकास गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमबाट तानसेन नगरपालिकाको ६ वटा वडाका विभिन्न टोलमा कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रम कृषि, शिक्षा, अपाङ्गता र ज्येष्ठ नागरिक लक्षित छ । जसअन्तर्गत शिक्षामा विद्यालयलाई शैक्षिक सामाग्री र विद्यार्थीलाई पोसाकसहित स्टेसनरी वितरण, कृषिमा आधुनिकता सहितको व्यवसायीकरणको लागि उन्नत बिउ बिजन उन्नत जातको पशुपक्षी वितरण र खोर निर्माणमा सहयोग, व्यावसायिक तालिम, अपाङ्गता क्षेत्रमा सहयोगी सामाग्री वितरण, ज्येष्ठ नागरिक सम्मानसहित पोषकतत्व र न्यानो कपडा वितरण लगायतका कार्यक्रमहरू तानसेन नगरपालिकामा सम्पन्न भएको मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो ।
कार्यक्रम मुख्यतया तानसेन नगरपालिकाको वडा नं ५ शिव पोखरी, वडा नं ८ कोकल, वडा नं ९, वडा नं ११ तिलाहार, वडा नं १२ डाडाकटेरी र वडा नं १४ कुसेनी रनुवामा सञ्चालन भएको उपमेयर लक्ष्मी पाठकले जानकारी दिनुभयो ।
कार्यक्रमबाट रोजगार वृद्धिको लागि समुदायमा चलिरहेको खेतीपाती र पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउने मुख्य उद्देश्य राखेको समितिका सदस्य गुराँस आत्रेयले जानकारी दिनुभयो ।
कृषिलाई आधुनिक बनाउन यस कार्यक्रमबाट चार सयभन्दा बढी परिवारलाई बिउ विजन वितरण गरिएको छ । ४४ जना कृषकलाई टनेल निमार्णको लागि प्लाष्टिक र ३९ जना कृषकलाई प्लाष्टिक पोखरी वितरण गरिएको छ ।
कार्यक्रमबाट पशुपालन क्षेत्रमा व्यावसायिकता वृद्धिको लागि ८० परिवारलाई उन्नत जातको बाख्रा पाठी, ४० परिवारलाई लोकल कुखुराको चल्ला, १० परिवारलाई बङ्गुरको पाठी र ४२ कृषकलाई बाख्रा खोर निर्माणमा आर्थिक सहयोग गरिएको छ ।
उत्साही कृषकको माग अनुसार उन्नत बोका, उन्नत जातका घाँसलगायत तानसेन नगरपालिकाले व्यावसायिकता वृद्धिको लागि आवश्यक तालिम र अन्य सहयोग निरन्तर दिँदै आएको छ ।
युवाहरूलाई स्वरोजगार बनाउन सञ्चालित कम्प्युटर मर्मत र कुक तालिम निषेधाज्ञाको कारण पुर्णरुपमा सञ्चालन हुन नसकेकाले आउँदो वर्षमा थप गर्नेछ ।
शिक्षा नै समुदाय विकासको मेरुदण्ड हो भन्ने मान्यताका साथ यस कार्यक्रमले तानसेन नगरपालिकाका चार विद्यालयलाई बाल कक्षा व्यवस्थापनका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।
सङ्ख्याको आधारमा धेरै विपन्न विद्यार्थीले अध्ययन गर्ने ६ वटा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्याक सुट, झोला, स्टेसनरी वितरण गरेको छ भने ३ वटा विद्यालयलाई दिवा खाजा निमार्णको लागि आवश्यकीय सामग्री प्रदान गरेको छ ।
निषेधाज्ञाको कारण बन्द रहेका विद्यालयहरू सञ्चालनमा आएपछि वितरित सामानको प्रयोगले शैक्षिक वातावरणमा थप सहयोग पुग्ने कार्यक्रमले अपेक्षा राखिएको कार्यक्रमका फोकल पर्सन दुर्गा थापाले जानकारी दिनुभयो ।
त्यस्तै समाजलाई लामो समय योगदान दिएर अहिले घरमै रहनुभएका तानसेन नगरपालिकाका तीन सयभन्दा बढी ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
शारीरिक रुपमा अशक्त रहनुभएका, अपाङ्गता भएका व्यक्तिको स्याहारसुसारमा परिवारलाई सहयोग होस् भनेर ह्वील चियर लगायतका सामाग्री वितरणले सहयोग पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्