तपाईँ सुन्दै हुनुहुन्छः

आरन व्यवसायीलाई आधुनिक औजार


रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरूलाई आधुनिक औजार तथा उपकरणहरू प्रदान गरेको छ । 

आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरू निःशुल्क उपलब्ध गराएको हो ।

कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरू उपलब्ध गराएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । 

नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधवार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरू प्रदान गरेको हो । 

त्यस अवसरमा नगर उप–प्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूको उत्थान, विकास र सशक्तीकरणका अन्य कार्यक्रमहरू सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । 

उहाँले परम्परागत पेसाको संरक्षणसँगै यो पेसा–व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमुनाको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।

नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पङ्खा, वेल्डिङ मेसिन, गेलेन्डरलगायतका औजार प्रदान गरेको छ । 

पुर्खौँदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्य स्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरू निकै उत्साहित भएको वडा नं. ११ का कृष्ण बहादुर विश्वकर्माले बताउनुभयो ।

कार्यपालिका सदस्य एच. बि. रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय सङ्कटमा पर्दै गएको पाइएपछि युवाहरूलाई समेत यो पेसामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताउनुभयो । 

एक दशक अघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायीहरू पछिल्लो पटक घट्दै गएका छन् । 

तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा रहेको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button