तातोपानी नाकाबाट लक्ष्यभन्दा कम राजश्व सङ्कलन

चौतारा । नेपाल–चीन बीचको प्रमुख व्यापारिक तातोपानी नाकाबाट लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७७/ ०७८ मा एक अर्ब दुई करोड रुपैयाँ राजश्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
कार्यालयका अनुसार गएको आर्थिक वर्षभित्र ५ अर्ब ४७ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।
कोरोना महामारी, लकडाउन र बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि राजश्व सङ्कलनमा गिरावट आएको हो ।
गएको आर्थिक वर्षमा ४ महिना मात्र नाका सञ्चालनमा आएको भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
गत असार २ गते आएको भोटेकोसी बाढीले नेपाल चीन जोड्ने लिपिङ पुल भासिएपछि आयातमा निकै कठिनाइ भएको भन्सार अधिकृत गौतमको भनाइ छ ।
अझै पनि चिनियाँ भूभागमा १० वटाभन्दा बढी मालवाहक कन्टेनर अलपत्र रहेको उहाँले जानकारी दिनुभयो ।
नाका बन्द भएपछि राजश्व सङ्कलनमा प्रभाव पर्नुका साथै सयौँको रोजगारी गुमेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पोडेले बताउनुभयो । “सामान अनलोड गर्ने करिब ३ सय भरिया अहिले बेरोजगार भएका छ,” अध्यक्ष पौडेलले भन्नुभयो ।
भासिएको पुल र सडक मर्मतका लागि स्थानीय सरकारसँग पर्याप्त बजेट नभएकोले प्रदेश वा केन्द्रीय सरकारले तत्काल चासो देखाउनुपर्ने अध्यक्ष पौडेलको भनाइ छ ।
वार्षिक ५ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्दै आएको तातोपानी नाकालाई स्थायीरुपमा सञ्चालन गर्नका लागि ठोस योजना ल्याउन पनि उहाँले सरकारसँग अनुरोध गर्नुभयो ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पअघि तातोपानी भन्सार कार्यालयबाट दैनिक डेढ करोडसम्म राजश्व सङ्कलन हुँदै आएको थियो ।
जुरे पहिरो, भूकम्प र लगत्तै आएको भोटेकोसी बाढीले सडक अवरुद्ध भएपछि यो नाका करिब ४ वर्षसम्म बन्द रह्यो ।
२०७६ साल जेठ १५ गतेबाट नाका औपचारिक रुपमा नै सञ्चालनमा आए पनि कोरोना भाइरस महामारी र सडक मर्मत हुन नसक्दा पटक पटक नाका बन्द हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्