तपाईँ सुन्दै हुनुहुन्छः

धमाधम कालोपत्रे हुँदै डोटीका शाखा सडक

डोटी। सडक निर्माण गरिएको वर्षौँपछि जिल्लाका शाखा सडक धमाधम कालोपत्रे हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्रे गर्ने तयारीमा रहेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६ किलोमिटर शाखा सडक कालोपत्रे गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिले ती सडकमा धमाधम काम भइरहेको छ ।

कालोपत्रेको तयारीमा रहेका सडकहरूमा सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक, जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाडौँ सडक तथा बुडर–जोरायल–गड्सेरा सडक रहेका छन् ।

जिल्लामा गाउँ घरदेखि पर्यटकीय क्षेत्र जोड्ने शाखा सडक कालोपत्रे हुने तयारीमा रहेपछि यहाँका नागरिकमा पनि खुशीयाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा जिल्लामा पाँच वटा शाखा सडक कालोपत्रेका लागि तयारी अवस्थामा छन्, सडक कालोपत्रे हुन थालेकामा यहाँ नागरिक खुशी भएका छन् ।” भौतिक पूर्वाधार कार्यालयका प्रमुख रामचन्द्र खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रूपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को योजनाअनुसार सिलगढीबाट कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक कालोपत्रेका लागि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो । रु १५ करोड ९७ लाख १२ हजार ५४२ मा ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी सिएबी कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौताअनुसार उक्त सडकको कम्तीमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । कालिका मन्दिरबाट झिग्रानासम्मको आठ किलोमिटर सडक कालोपत्रेका लागि पनि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो । रु २२ करोड ५० हजार ४४ मा सम्झौता भएको उक्त सडक खण्डमा ५५ प्रतिशत काम सम्पन्न भइसकेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकाम सिलगढीबाट कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक पनि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कालोपत्रेको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सिलगढीबाट साढे सात किलोमिटर सडक कालोपत्रेका लागि राजेन्द्र पिएस जेभीसँग विसं २०७६ असार महिनामा रु १६ करोड १५ लाख ७० हजार ३१० मा सम्झौता भएको थियो । कम्तीमा पनि ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने उक्त सडकमा ५० प्रतिशतको हाराहारीमा काम भएको कार्यालयको दाबी छ । आव २०७५/७६ कै योजनाअनुसार राजपुर–फलेडी–धिर्कामाडौँं सडकमा साढे नौ किलोमिटर कालोपत्रेको काम सञ्चालन भइरहेको छ । उक्त सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ विनियोजन गरिएको छ । उक्त सडकको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । उक्त सडक कालोपत्रेको जिम्मेवारी केएस कन्स्ट्रक्शनले पाएको छ ।

यसै गरी बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रेका लागि तीन खण्डमा काम भइरहेको जोरायल गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर मल्लले जानकारी दिनुभयो । सङ्घीय सरकारले हस्तान्तरण गरेको १० किलोमिटर कालोपत्रेको योजनामा ८० प्रतिशत काम सम्पन्न भइसकेको उहाँको दाबी छ । यही असार मसान्तमा सम्पन्न हुनुपर्ने उक्त काम कोरोना महामारीका कारण भने केही प्रभावित भएको बताइएको छ । रु ३० करोडको हाराहारीमा उक्त सडक कालोपत्रेको कार्य लुम्बिनी राजेन्द्र जेभीले पाएको थियो । उक्त कार्य सङ्घीय सरकारले ठेक्का सम्झौता गरी प्रदेश सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको थियो ।

बुडर–जोरायल–गड्सेरा सडकमै प्रदेश सरकारको योजनाअन्तर्गत थप १७ किलोमिटर कालोपत्रे काम पनि सञ्चालन भइरहेको छ । विसं २०७७ असार ३० गते शर्मा राजेन्द्र जेभीसंँग रु ३२ करोड ७१ लाख ४७ हजार ५६५ मा लागत सम्झौता भएको उक्त कार्य तीन वर्षसम्म सक्नुपर्ने सर्त जारी गरिएको छ । उक्त योजनामा कम्तीमा पनि २५ प्रतिशत मात्रै प्रगति भएको बताइएको छ । बुडर–जोरायल सडक खण्डमा थप साढे सात किलोमिटर कालोपत्रेका लागि चालु आवमा पनि बजेट विनियोजन भएको छ । गत असार १५ गते रु १२ करोड ५३ लाखमा केएस कन्स्ट्रक्सनसँग भएको सम्झौताअनुसार उक्त कार्य दुई वर्षमा सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ ।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरबाट राना गाउँसम्मको कम्तीमा पनि साढे नौ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । सङ्घीय सरकारले केएस कन्स्ट्रक्सनसँग रु ३० करोडको ठेक्का सम्झौता गरी कार्यान्वयन गर्न उक्त कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त सडकमा राना गाउँबाट वायलसम्म १० किलोमिटर कालोपत्रेको निर्माण सञ्चालनमा रहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७७ असार ३० गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको छ । प्रदेश सरकारको बजेटअन्तर्गत रु १७ करोड ६३ लाख तीन हजार ७८७ मा निर्माण सम्झौता भएको बताइएको छ । उक्त सडकमा कम्तीमा पनि २५ प्रतिशत कार्य प्रगति भएको भौतिक पूर्वाधार कार्यालयको दाबी छ ।

उता जिल्लाको सबैभन्दा पुरानो सहजपुर–बोगटान दिपायल सडकअन्तर्गत सहजपुरबाट अत्तर काँडासम्म कम्तीमा पनि ५२ किलोमिटर सडक सङ्घीय सरकारको लगानीमा कालोपत्रेको काम हुँदै छ । यसअघि डोटी जिल्लामा कुनै पनि शाखा सडक कालोपत्रे भएका थिएनन् । शाखा सडक स्तरोन्नतिसँगै कालोपत्रे भए आफूले फलाएका तरकारीदेखि अन्य चिज वस्तुहरू बजारसम्म पु¥याउन सहज हुने भन्दै यहाँका किसान खुशी भएको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा पनि यहाँका सडक कालोपत्रेका लागि निर्माण कार्य तीव्र रूपमा सञ्चालन भइरहेका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button