तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका स्थानीय तहमा अनावश्यक शीर्षकमा करोडौँ रुपैयाँ खर्च

वीरगंज । पर्सामा रहेका स्थानीय सरकारका प्रमुखहरूले आफै सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई पाखा लगाउँदै अनावश्यक शीर्षकमा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । 

आफूलाई सरकार प्रमुख भन्दै जनताको मतबाट विजयी भएका प्रतिनिधिहरू बाट नै आफु खुशी रकम बाडफाड तथा रकमान्तरण गरी हिनामिना गरेको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय पर्साका अनुसार जनप्रतिनिधिहरुले आफ्नो उत्तरदायित्व निर्वाह नगरी नचाहिने विषयमा करोडौँ खर्च गरेका केही पालिकाको रकमसमेत रोकेको जनाएको छ । 

१२ महिनासम्म केही नगर्ने असार महिनाको अन्तिम समयमा आफु खशी रकम बाडफाड गरी ठुलो रकमको चेक काटिनुले उनीहरूको नियतिमाथि कोलिनिकाले शङ्का व्यक्त गरेको छ । 

नीति नियम र बजेट पुस्तिकाको आधारमा काम गर्नुको साटो कुल बजेटको ५० प्रतिशत रकम १५ दिनमा सिद्ध्याउने रणनीति अनुसार पर्साका स्थानीय तहमा काम भएको पाइएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीले भन्नुभयो । 

सङ्घ वा प्रदेश सरकारले पठाएको रकम सम्बन्धित स्थानीय तहलाई पठाउनु हाम्रो कर्तव्य हो तर कोषको दुरुपयोग रोक्न आफूहरूले भूमिका खेलेको कार्कीले बताउनुभयो । 

कोष तथा लेखा नियन्त्रणको कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पर्साका १४ स्थानीय तह अन्तरगत वीरगंज महानगरले सङ्घ सरकारको अनुदानमा १ अर्ब ४३ करोडमध्ये चालु तर्फको ३८ करोडमा १५ करोड असारको अन्तिम समयमा खर्च गरेको छ । 

यसै गरी, आव २०७७÷७८ मा पोखरिया नगरपालिकाले सङ्घीय सरकारबाट प्राप्त ३५ करोड २८ लाखमध्ये चालुतर्फको ८ करोडमा १५ दिनमा २ करोड खर्च गरेको छ । बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट ३२ करोड ७४ लाखमध्ये चालुतर्फको ७ करोडमा २ करोड १५ दिनमा खर्चेको छ । 

पर्सागढी नगरपालिकाले सङ्घीय सरकारबाट प्राप्त २९ करोड ४८ लाखमध्ये चालुतर्फको ७ करोडमा २ करोड १५ दिनमा खर्च गरेको छ । 

त्यसै गरी गाउँपालिकाहरूमा पकाहामैनपुर गाउँपालिकाले सङ्घ सरकारबाट रु २० करोड ५२ लाखमध्ये चालुतर्फको ५ करोडमा ४ करोड १५ दिनमा खर्च गरेको छ । कालिकामाई गाउँपालिकाले सङ्घीय सरकारबाट २२ करोड २२ लाखमध्ये चालुतर्फको ६ करोडमा २ करोड १५ दिनमा खर्चेको  छ । धोबिनी गाउँपालिकाले सङ्घ सरकारबाट प्राप्त २१ करोड ४६ लाखमध्ये चालुतर्फको ५ करोडमा २ करोड १५ दिनमा खर्चेको छ । 

ठोरी गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त २९ करोड ४३ लाखमध्ये चालुतर्फको ६ करोडमा ३ करोड खर्च १५ दिनमा सकेको छ । विन्धवासिनी गाउँपालिकाले सङ्घ सरकारबाट प्राप्त २४ करोड ८ लाखमध्ये चालुतर्फको ५ करोडमा ३ करोड खर्च १५ दिनभित्रमा खर्च गरेको छ । सखुवाप्रसौनी गाउँपालिकाले सङ्घ सरकारबाट प्राप्त ३२ करोड ६७ लाखमध्ये चालुतर्फको ८ करोडमा ३ करोड १५ दिनमा खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ । 

यता पटेर्वासुगौली गाउँपालिकाले सङ्घबाट प्राप्त २७ करोड ७७ लाखमध्ये चालुतर्फको ५ करोडमा ३ करोड १५ दिनमा खर्च गरेको पाइएको छ । 

जगरनाथपुर गाउँपालिकाले सङ्घ सरकारबाट प्राप्त २७ करोड ९५ लाखमध्ये चालुतर्फको ७ करोडमा ३ करोड १५ दिनमा खर्च गरेको छ । छिपहरमाई गाउँपालिकाले सङ्घ सरकारबाट  प्राप्त २५ करोड ८ लाखमध्ये चालुतर्फको ७ करोडमा ३ करोड १५ दिनमा खर्च गरेको छ । 

जीराभवानी गाउँपालिकाले सङ्घ सरकारबाट प्राप्त २५ करोड ४४ लाखमध्ये चालुतर्फ ४ करोडमा ३ करोड असारको अन्तिम साता खर्च गरेको छ । 

पर्साका स्थानीय तहहरूमा विकासका नाममा बजेट सिद्ध्याउने रणनीतिमा जनप्रतिनिधिहरू लागेका छन् । 

१ वर्षसम्म चुपचाप बसेका जनप्रतिनिधि तथा कर्मचारीहरूको लापरबाहीको कारण वर्षाको समयमा सडक निर्माण, बाटो ढलान, छत तथा नाला ढलान जस्ता काम गर्दै आएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button